काठमाडौंका अर्यालले सशस्त्र प्रहरीको आईजीपीको जिम्मेवारी सम्हाले

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पदभार ग्रहण गरेका छन् ।

आईजीपी अर्यालले सोमबार सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा पदभार ग्रहण गरेका हुन् ।

गृहसचिव टेकनारायण पाण्डेले गृह मन्त्रालयमा अर्याललाई आईजीपीको दर्ज्यानी चिन्हबाट सु–शोभित गरेका थिए ।

महानिरीक्षक अर्यालले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलिकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढिकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गरेका छन् ।

आईजीपी अर्यालको हुन् ?

आईजीपी अर्याल पिता दामोदरप्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट विक्रम संवत २०३१ साल मंसिर २३ गते जेष्ठ सुपुत्रको रुपमा जन्मिएका हुन् ।

काठमाडौ जिल्लाको गोलढुंगा–३ स्थायी बसोवास गरिहेका अर्यालले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तीर्ण गरेका छन् ।

विक्रम संवत २०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल विक्रम संवत २०५८ साल जेठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण भएका थिए ।

उनले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायत विभिन्न अफ्रिकी मुलुकहरू समेत भ्रमण गरेका छन् ।

महानिरीक्षक अर्याल सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, गोर्खा दक्षिणबाहु चौथा, लगायत विभिन्न ८ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा अलंकारहरूबाट विभूषित भएका छन् ।

उनले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरू, गण तथा गुल्म लगायत १० भन्दा बढि ईकाइहरूको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै विशिष्ट कार्य अनुभव हासिल गरेका छन् ।

Published : Monday, 2022 May 2, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया