एमालेको हनुमान बने ढोरपाटनका हाकिम, राज्यको दाना खाएर दिए जनताको ढाँड भाँच्चिने धम्की

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाले एमालेलाई पोस्न सूचना लुकाउने गरेको रहस्य बाहिरिएको छ ।

नगरपालिकामा भएका कामको तथ्यांक उपलब्ध गराउन माग गर्दै दिएको निवेदन नै पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले फिर्ता पठाएका छन् ।

मंगलबार सूचनाको हकअनुसार पालिकाले उपलब्ध गराएको आर्थिक सहायता रकम र पाउने व्यक्तिको नामसहितको तथ्यांक उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका स्थानीयलाई नगरपालिकाले सूचना नदिइ फर्काएको हो ।

सूचनाको हक सम्बन्धी ऐनअनुसार सूचना अधिकारी समक्ष आर्थिक वर्ष २०७४÷०७५ देखि २०७९ हालसम्म नगरपालिकाबाट दिइएको आर्थिक सहायता (विशेष राहत) कार्यक्रमको विवरण माग गर्दै स्थानीय गोपाल महत नगरपालिका गएका थिए ।

उपलब्ध गराइएको आर्थिक सहायताको विवरण लिन पुगेका महतलाई प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नगरप्रमुखको क्षेत्रअधिकार भएको भन्दै फिर्ता पठाएका छन् । मेयर नभएका बेला प्रशासकीय अधिकृत नै नगरपालिकाको सबैथोक हुन्छ ।

निर्वतमान ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले राजीनामा बुझाइसकेका छन् । नेपाली एमालेका नेता हुन् । नेपाली ढोरपाटनमा एमालेबाट मेयर पदमा उम्मेदवार बनेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराइले महतले दिइएको निवेदनको माग सूचनाको सम्बन्धमा प्रत्यक्ष सरोकार नदेखिने भन्दै फिर्ता पठाएको बताएका छन् ।

‘यसअघि भएका कामहरूको विवरण नगरप्रमुखको क्षेत्रअधिकारभित्र भएकोले हामीले दिन मिल्दैन’, भट्टराईले भने, ‘जेठ ५ गतेपछि नयाँ जनप्रतिनिधि आउँछन् त्यसपछि आउनु भनेको छु ।’

आन्तरिक लेखा परीक्षण र महालेखाले बेरुजु नदेखाएको विवरण दिन नसकिने प्रशासकीय प्रमुख भट्टराईको दाबी रहेको छ ।

‘नगरप्रमुखको क्षेत्रअधिकार भएकाले मैले सूचना दिन मिल्दैन, अदालत जानु भनेको छु, जबरजस्ती गरे नगरप्रमुखका मान्छेले ढाँड भाँच्न सक्छन् हामी जिम्मेवारी हुँदैनौं’, भट्टराईले भने ।

आफूले माग गरेको सूचना नगरपालिकाले उपलब्ध गराउन नचाहेको र निश्चत समय समेत नदिएको भन्दै महतले जनतालाई सूचनाको हकबाट वञ्चित गराइएको बताएका छन् ।

एमालेलाई सहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत भट्टराईले सूचना लुकाएको आरोप छ ।

Published : Wednesday, 2022 April 27, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया