ओली धेरै बकबक गरेपछि कांग्रेसद्वारा मुख सम्हाल्न चेतावनी

सानेपा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन् ।

सानेपामा बुधबार पत्रकारहरूसँग उनले भने, ‘देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ । एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ ।’

‘सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन्’, उनले भनेका छन् ।

डा.महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति संबन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको बताए । उनले एमाले र ओलीको कार्यशैलीप्रति निर्वाचन आयोग मुकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ओलीले कांग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर तुच्छ टिप्पणी गरेका थिए ।

उनले स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना संबोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गरेका छन् ।

संकल्पमा उल्लेख भएअनुसार ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिंदा पिछडिएको, दलित र विपन्न वर्ग लाभान्वित हुने उनले बताएका छन् ।

Published : Tuesday, 2022 April 26, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया