घोराही कांग्रेसका साथीहरूको भावना र सुझावअनुसार नै अगाडि बढ्छु : नेता डाँगी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् दाङ क्षेत्र नं. २ का पूर्वसभापति भुपबहादुर डाँगीले पार्टीका साथीहरूसँगको परामर्शमा आफू अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

बिहीबार रिपब्लिका दैनिकसँग कुरा गर्दै नेता डाँगीले घोराही उप–महानगरपालिकाको स्थानीय तहको निर्वाचनका विषयमा पार्टीका साथीहरूसँग परामर्श गर्ने बताए ।

‘पार्टीका साथीहरूको भावनाअनुसार अगाडि बढ्नेछु’, उनले भने, ‘म एक्लै केही होइन । मेरो पार्टी भनेको कांग्रेस हो । कांग्रेसको निर्णय, निर्देशन र साथीहरूको सुझावभन्दा बाहिर जान मिल्दैन ।’

तपाई मेयरमा उम्मेदवार बन्नु हुन्छ कि उप–मेयरको उम्मेदवार ? भन्ने जिज्ञासामा नेता डाँगीले भने, ‘म आज काठमाडौंबाट दाङ जाँदैछु । साथीहरूसँग पहिला परामर्श गर्छु । त्यसपछि सुझाव र सल्लाह के आउँछ त्यसैअनुसार गर्नेछु ।’

नेता डाँगीले भने, ‘कांग्रेसको केन्द्रीय नेतृत्वबाट हुने निर्णय र निर्देशनलाई मसहितका नेता कार्यकर्ताले कार्यान्वयन गर्नुपर्छ भन्ने संस्कारबाट आएको हुँ । पार्टी नेतृत्वलाई सहयोग गर्नु मेरो दायित्व र कर्तव्य हो ।’

माओवादीलाई मेयर दिने ५ दलीय गठबन्धनको निर्णय भएको छ त्यसलाई मान्नु हुन्छ ? भन्ने जिज्ञासामा नेता डाँगले भने, ‘यो मेरो व्यक्तिगत कुरा रहेन । पार्टीको निर्णय त्यही छभने मान्नुपर्छ । मैले मात्रै होइन कांग्रेसप्रति आस्था राख्ने सबैले मान्नुपर्छ ।’

कांग्रेसकै हितको लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निर्णय लिएको हुन सक्नेभन्दै त्यसलाई अहिलेनै अविश्वास गरिहाल्नुपर्ने समय नआएको बताए । उनले स्थानीय तहको परिणामपछि सबै कुराको समीक्षा गर्नुपर्ने भन्दै पहिला निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

डाँगीलाई कांग्रेसले घोराही उप–महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने तयारी गरेको थियो ।

५ दलीय गठबन्धनले भागबण्डा गर्ने क्रममा घोराही उप–महानगरपालिका माओवादी केन्द्रको भागमा दिएपछि समस्या आएको छ ।

कांग्रेस नेता डाँगीले उप–मेयरमा उम्मेदवार दिने वा नदिने भन्ने विषयमा दाङ कांग्रेसका नेता र घोराहीका स्थानीय नेता कार्यकर्ताको सुझावअनुसार अगाडि बढ्ने बताएका छन् ।

Published : Thursday, 2022 April 21, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया