विप्लवका तीन नेता पार्टीबाट निस्कासित, कोटेश्वरमा प्रचण्ड–माधवसँग वार्ता
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई शीर्ष नेताहरूले माओवादी केन्द्र र नेकपा (एस)का अध्यक्षलाई भेट गरेका छन् ।
आइताबर काठमाडौंको कोटेश्वरस्थितमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालसँग नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले भेट गरेका हुन् ।
प्रमुख राजनीतिक दलका नेताहरुसंगको भेटवार्तालाई तीब्र बनाएका छन् ।
पार्टीभित्र विवाद भएपछि ओली र बास्तोलाले विप्लवलाई छाड्ने तयारी गरेका छन् । उनीहरूले तीन दिन अगाडि प्रचण्डसँग गोप्य रुपमा भेट गरेर आफूहरू माओवादीमा प्रवेश गर्न चाहेको बताएका थिए ।
विप्लव र खड्गबहादुर विश्वकर्माले चन्दाको विषयलाई लिएर ओली र बास्तोलालाई कारबाही गर्ने तयारी समेत गरेका छन् ।
ओलीले दरबारमार्गको होटेल अन्नपूर्णबाट ५ करोड चन्दा लिएको तथा बास्तोलाले चीनबाट आएको रकम हिनामिना गरेको भन्दै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा विप्लवले हिसाब माग गरेका थिए । हिसाब माग गरेपछि ओली र बास्तोला रिसाएर पार्टी छाड्ने अवस्थामा पुगेका हुन् ।
विप्लवको नेकपामा चुनाव उपयोगबारे कपिलवस्तु बैठकको निर्णय कार्यान्वयनलाई लिएर विवाद छ ।
यसैबीच, नेकपाको कास्की जिल्ला कमिटीले गोकुल पराजुली, बद्री अधिकारी र रमेश बास्तोलालाई पार्टीबाट निकालेको कास्की ईञ्चार्ज उमा भुजेलले विज्ञप्तिमार्फत जनाएकी छिन् ।
पार्टीको निर्णय र नीतिविरुद्ध भ्रम सिर्जना गर्दै समानान्तर गतिविधि गरेको, अन्तरध्वंशको षडयन्त्र गरेको, पार्टी नीतिलाई सहि ढंगले कार्यान्वयन नगरेको, सामाजिक सञ्जालको प्रयोग गरी क्रान्तिविरोधी शक्तिलाई मलजल गरेको आरोपमा उनीहरूमाथि कारवाही गरिएको उल्लेख छ ।
कारबाहीमा परेका उनीहरू चुनाव बहिष्कार गर्नुपर्ने पक्षधर ओली र बास्तोला निकटका नेता हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया