केन्द्रको निर्देशन नमाने कांग्रेसले अनुशासनको कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएको छ ।

शुक्रबार ललितपुरमा बसेको कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेको हो । केन्द्रबाट हुने निर्देशन नमानेमा अनुशासनको कारबाहीसम्म गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसको नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसका केही नेताहरूले गठबन्धनविरुद्ध अभिव्यक्ति दिएका बेला केन्द्रबाट दिइने निर्देशनलाई उल्लंघन गरे कारबाहीसम्मको चेतावनी समितिले दिएको छ ।

उप–सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बनेपछि त्यसले काम गर्दै आएको छ ।

Published : Friday, 2022 April 15, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया