सभापति बानियाँद्वारा गठबन्धनको बचाउ, कम्युनिस्टलाई सँगै हिँडाएको इतिहाँस सुनाए

विदुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनमा गठबन्धनको औचित्य रहेको बताएका छन् ।

नुवाकोट जिल्लामा कांग्रेसको विदुर नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति बानियाँले औचित्य र आवश्यक्ताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस कमजोर रहेको स्थानमा गठबन्धनका अन्य पार्टीका उम्मेदवारलाई सहयोग गरेर जानुपर्ने बताए ।

कांग्रेस बलियो रहेका स्थानमा अन्य दलहरूलाई साथमा लिएर जाँदा कांग्रेसका उम्मेदवारहरूले झन् धेरै स्थानमा जित्ने बानियाँले बताएका छन् ।

‘पार्टीभित्र आफ्ना कुरा राख्न पाइने पार्टी नेपाली कांग्रेस हो । फरक पार्टीलाई पनि सहमति, सहकार्य बनाएर संविधान बनाउने पार्टी पनि कांग्रेस हो’, उनले भनेका छन् ।

‘कता–कता बेमेलबाट हामी अगाडि बढ्ने हो ?’, प्रश्न गर्दै उनले भने, ‘यहाँ मैले धेरै सुने कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भनेर । हो, एक्लै लड्नुपर्छ । एक्लै रुखमा भोट हाल्नुपर्छ । यो त सब भन्ने कुरा हो भने जस्तै हो ।’

सभापति बानियाँले भनेका छन्, ‘परिणाम हेर्नु प¥यो । परिणती हेर्नु पर्‍यो । कांग्रेसको इतिहाँस हेर्नु प¥यो । अनि वर्तमानबाट सिक्नु पर्‍यो ।’

‘नेपाली कांग्रेस २०४६ सालको परिवर्तनपछि । २०४६ सालको जनआन्दोलनको लागि वाम घटकसँग कांग्रेसले त्यो बेला प्रजातन्त्र प्राप्तिको लागि वामहरूलाई नेतृत्व गरेर गठबन्धनलाई लिएर हिँड्यो । परिणाम ल्यायो । प्रजातन्त्र प्राप्ति भयो’, उनले भनेका छन् ।

‘सरकार गठबन्धनको बन्यो । निर्वाचन एक्लाएक्लै लड्यो । त्यसपछि नेपाली कांग्रेस अलिकति कमजोर भयो २०५१ सालमा’, बानियाँले भने, ‘२०५६ मा आउँदै गर्दा, २०५४ मा बामदेव गौतमले गरेको निर्वाचन हे¥यौँ । महाकाली सन्धिका कारण एमाले फुट्यो ।’

कांग्रेसका केही नेताहरूले गठबन्धनको विरोध गरेकोप्रति सभापति बानियाँले असन्तुष्टि जनाए । उनले गठबन्धनमा रहेका दलहरूकै कारण कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको भन्दै गठबन्धनका दलहरूलाई बीचमा छाडेर हिँड्न नहुने बानियाँले बताएका छन् ।

कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति रमेश महतले स्थानीय तहको निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाउने सबैलाई जिताउन आग्रह गरेका छन् ।

Published : Saturday, 2022 April 2, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया