सर्लाही कांग्रेसमा शेखर समूहका अमरेशले भाँडभैलो गरेपछि ८ नेताहरूद्वारा निर्वाचनको माग

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन शेखर कोइराला निकटका नेता अमरेशकुमार सिंहको समूहले बिथोलेपछि ८ जना नेताहरूले छिटो चुनावी कार्यक्रम अगाडि बढाउन माग गरेका छन् ।

अधिवेशन चाहने नेताहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टीको निर्वाचन निर्देशिका तथा नियमावलीअनुसार अविलम्ब निर्वाचन प्रक्रिया पूरा गर्न निर्वाचन समिति र सरोकारवालाहरूसँग माग गरेका छन् । उनीहरूले अधिवेशन बिथोल्ने कार्यको घोरभर्त्सना गरेका छन् ।

‘धेरै प्रयासमा सोमबार सम्पन्न हुने गरी तयारी गरिएको जिल्ला अधिवेशनको आचारसंहितामा पुनः बखेडा झिकेर पार्टीको विधान, नियमावली र निर्देशिकामा व्यवस्था भए बमोजिम निर्वाचन सम्पन्न गरौँ भनी गरेको प्रयासमा मन गढन्ते र अमर्यादित तथा गैरकानूनी शब्दको प्रयोग गरी द्वन्द्व निम्त्याइ अविधेशन रोक्ने कार्य गरियो’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘आफ्नो कर्तुत् लुकाउन हतास तथा पराजित मानसिकताको उपज स्वरुप प्रकाशित प्रेस विज्ञप्ति र त्यसमा प्रयोग गरिएको शब्दले पनि पुष्टि गर्छ इतर पक्ष निर्वाचन प्रक्रियाबाट भाग्दैछ’, नेताहरूले भनेका छन् ।

सर्लाही कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका अमरेशका कारण सोमबार हुने भनिएको मतदान प्रक्रिया रोकिएको थियो ।

यसअघि पनि अमरेशको समूहले निर्वाचन अधिकृतलाई कुटपिट गरेर निर्वाचन अधिकृतलाई लखेटेका थिए । महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि अमरेशले सर्लाही कांग्रेसभित्र उत्पात मच्चाउँदै आएका छन् । उनले अधिवेशनलाई यो तेस्रो पटक अबरोध गरेका छन् ।

‘स्मरण रहोस् पहिला पनि यस जिल्लाबाट इतर पक्षले आफ्नो अनुकूल काम नगरेको अभियोग लगाई निर्वाचन अधिकृतलाई कुटपिट गरी लखेटेको कुरा सर्वविधितै छ’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन प्रक्रियाको माग गरेर संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा सर्लाही कांग्रेसका सभापति नागेन्द्र कुमार, पूर्व केन्द्रीय सदस्य जंगीलाल राय, शम्भुलाल श्रेष्ठ, मधेश प्रदेशका उप–सभापति वीरेन्द्रप्रसाद साह, मधेश प्रदेश सभाका सचेतक उपेन्द्रप्रसाद कुसवाहा, सर्लाही– ३ का क्षेत्रीय सभापति पूण्यप्रसाद घिमिरे, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादव र मधेश प्रदेश कांग्रेसका सभापति कृष्णप्रसाद यादव रहेका छन् ।

Published : Tuesday, 2022 March 8, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया