झलनाथलाई औकातमा बस्न आलेको चेतावनी, उम्लिएका मन्त्रीले हैसियत भुले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आलेले वरिष्ठ (सम्मानित) नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपमान गरेका छन् ।

आइतबार राजधानीमा बसेको एकीकृत समाजवादीको बैठकमा आलेले नेता खनालललाई एमसीसीका विषयमा निकै तल्लोस्तरको भाषा प्रयोग गरेर अपमान गरेको एक नेताले बताएका छन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीका विषयमा वरिष्ठ नेता खनालले जथाभावी बोलेको भन्दै आलोचना गरेका थिए । खनालको आलोचना अध्यक्ष नेपालले भन्दा पनि धेरै आलेले गरेका थिए ।

मन्त्री आलेले सम्मानित नेता भएकाले त्यही अनुसारकै भूमिकामा बस्न सुझाव दिए । ‘तपाईं सम्मानित नेता हो, सम्मानित ठाउँमा बस्नुहोस्’, आलेले चेतावनी शैलीमा भने, ‘हामीले सम्मान गर्ने ठाउँ राख्नुहोस् ।’

आलेले नेकपाकालमा एमसीसीको विरोध खनालले गर्दा आफूहरूले साथ दिएको भए पनि अब त्यो सकिएको बताए ।

‘नेकपाकालमा तपाईंले नो एमसीसी भन्नुभयो, हामी त्यसको पछि लाग्यौं’, उनले भने, ‘अहिले हामीसहित एमसीसी पारित भइसकेपछि अब फिनिस एमसीसी’ ।’

एमसीसीका नाममा विवाद गर्दा केपी ओलीलाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आलेले खनाललाई मुख सम्हालेर बस्न चेतावनी दिए ।

अध्यक्ष नेपालले एमसीसी पारित नभएको भए आफूहरूको पार्टी खारेज हुने जानकारी बैठकलाई गराएका थिए ।

Published : Tuesday, 2022 March 8, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया