पार्टीले टिकट दिएका उम्मेदवारले जित्नुपर्छ, जिताउने हाम्रो दायित्व हो : कांग्रेस नेता खवितडा

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाका नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

एक हप्ता गृहजिल्ला ओखलढुंगामा बसेका नेता खतिवडाले पार्टीका कार्यक्रमसहित विभिन्न सामाजिक कार्यक्रमहरूमा समेत सहभागिता जनाएको उनको निजी सचिवालयले जनाएको छ ।

उनले स्थानीय तहको निर्वाचन आउन थोरै समय रहेको भन्दै पार्टीले टिकट दिएका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् । खतिवडाले पार्टीका राम्रा नेतालाई टिकट दिने आश्वासन दिएका छन् ।

स्थानीय नेता कार्यकर्ताहरूले पनि केन्द्रमा नेताहरूबीच विवाद हुन नहुने सुझाव दिएका छन् । मिलेर जाने हो भने कम्युनिस्टलाई हराउन सकिने गाउँका कार्यकर्ताको भनाइ छ ।

स्थानीय तहको निर्वाचन आउन थोरै समय रहेका बेला नेता खतिवडाले पार्टीका नेता कार्यकर्तासँग भेट गर्नुका साथै स्थानीय तहमा राखिएका कार्यक्रममा भाग लिएका हुन् ।

खतिवडाले चिसन्खु, मानेभञ्ज्याङ, सिद्दिचरण, मोलुङ, सुनकोसी, ज्यामिरे, वाक्सा, जन्तरखानी, सेर्नामा भएका कार्यक्रम र पार्टीका नेता कार्यकर्तासँग भेट गरेका थिए ।

खतिवडा जिल्लाको कार्यक्रमहरू सकेर काठमाडौंतिर लागेको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

कार्यक्रमहरूमा खतिवडासँगै जिल्ला सभापति तेजेन्द्र खनाल, केन्द्रीय सदस्य प्रदीप सुनुवार, पूर्व सभापति पूर्णकुमार शेर्मा, नेताहरू बालकृष्ण दाहाल, नवीन राईसहितका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Monday, 2022 March 7, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया