काठमाडौंमा फुस्टायो नयाँ धन्दा, दुई महिलासहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगीमा गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखरी घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय अमर पाण्डे, अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे रहेका छन् ।
बालाजुस्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङको दुधपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका जरखुं बस्ने २२ वर्षीय आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक सिरहाको सिरहा नगरपालिका–१९ घर भई हाल ललितपुर सानोगाँउ बस्ने २३ वर्षीय विवेक यादव, काठमाडौं महानगरपालिका–३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका–३ अधेँरी घर भई हाल काठमाडौं कपन बस्ने २८ वर्षीय अश्विन राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भई हाल जडिबुटी बस्ने २२ वर्षीय घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका रौतहटको चन्द्रपुर नगरपालिका– ४ घर भई हाल जडिबुटी बस्ने २५ वर्षीया सृजना लामिछाने, कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका विराटनगर उपमहानगरपालिका–४ घर भई हाल कोटेश्वर बस्ने ४० वर्षीया ज्ञानु न्यौपाने र कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहटको मौलापुर गाउँपालिका–५ घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय रामवचनकुमार यादव पनि पक्राउ परेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनीहरू दर्ता गरेर सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार–पम्प्लेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचार–प्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फाराम भर्ने बहानामा ३ सयदेखि ५ सय रूपियाँसम्म फाराम चार्ज तथा १ हजारदेखि ६ हजार रूपियाँसम्म जब ग्यारेन्टी शुल्क लिने गरेको खुल्न आएको प्रहरी भनाइ छ ।
फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने र कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भइसकेको भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फाराम शुल्क असुल्ने गरेको खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया