एमसीसीबारे गृहमन्त्री खाणको ब्याख्याले धेरैको चित्त बुझ्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् ।

सोमबार नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको गृह मन्त्रालयमा उदघाटन गर्दै खाणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताए ।

‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ’, उनले भने, ‘एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न ।’

उनले एमसीसीले विद्युतको विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग गर्ने बताए ।

अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाणले बताएका छन् ।

उनले विद्युतको तारबाट विद्युत आउने, विदेशी सेना नआउने बताए ।

‘विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन’, खाणले भने, ‘राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको हो ।’

केही कम्युनिस्ट र मण्डलेहरूले एमसीसीका विषयमा नआवश्यक भ्रम फैलाएर विरोध गरेका बेला गृहमन्त्री खाणले कुनै पनि विदेशी सेना नेपाल नआउने बताएका हुन् ।

उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए ।

एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने भन्दै उनले दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको बताए ।

एमसीसी ऋण नभइ अनुदान भएको उनले बताएका छन् । आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको समेत खाणले बताएका छन् ।

एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने गृहमन्त्री खाणले बताएका छन् ।

खाणले राष्ट्रसेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा सरकार रहेको बताए ।

साधन र स्रोतको अभावमा सोँचेजति पारिश्रमिक दिन नसकिएको उनले बताएका छन् ।

Published : Monday, 2022 March 7, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया