अन्तर्घात भएन भने कांग्रेसलाई हराउने तागत कसैको छैन : रामहरि खतिवडा

सिद्धिचरण । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्वाचनको तयारीमा लाग्न सबैसँग अनुरोध गरेका छन् ।

बिहीबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निर्वाचनको तयारीको सिलसिलामा आफूहरू उपस्थिति भएको बताए । उनले वैशाख ३० गते निर्वाचनको घोषणा गरिसकेको अवस्थामा कांग्रेसका उम्मेदवारहरूलाई जिताउने दायित्व रहेको बताए ।

उनले ०७९ स्थानीय तहका साथै सालभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि सम्पन्न गर्न लागेको बताए । ‘राम्रो काम गर्दागर्दै पनि २०७४ सालको निर्वाचनमा कांग्रेस २५ प्रतिशत मात्रै सीमित भयो’, खतिवडाले भने, ‘हाम्रो नेतृत्वमो संविधान बनायौँ । सबैको संविधान बनायौँ । हाम्रो नेतृत्वमा वारी ढुंगा हानेर पारी भात खाएर बस्नेलाई संविधान मान्ने बनायौँ । बहुदल नमान्नेलाई बहुदल मान्ने बनायौँ । हामीले लिएको सिद्धान्त जित्दै गर्ने, हामीले हार्ने अवस्था कसरी आयो ?’

नेता खतिवडाले कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म जित्ने गरेर एकताबद्ध भएर जानुपर्ने बताएका छन् ।

‘मान्छेको मुख हेर्दैनौँ । कांग्रेसको रुख हेर्छौं । त्यस्तो भयो भने कांग्रेसलाई कसैले हराउन सक्दैन’, नेता खतिवडाले भने, ‘चुनावमा जात, धर्म, वर्गाको कुरा गर्ने होइन ।’

‘चारतारे झण्डाभित्र सबै कुरा पाइन्छ । नाता, दाताको कुरा गर्ने होइन । राम्रो र हाम्रो मान्छेलाई सहयोग गरौभन्ने प्रतिवद्धता गरौँ’, उनले भने, ‘हामीले स्थानीय तहमा जित्ने, जिल्ला समन्वय समिति हामीले गठन गर्ने । केन्द्रीय निर्वाचनमा हामीले हार्ने अवस्था किन भयो ?’

नेता खतिवडाले अबको निर्वाचनमा टिकट दिने बेला जनताको मन जित्नेलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

‘नेताको अगाडि पछाडि परिक्रमा गर्ने गणेश प्रवृत्तिलाई टिकट दिनु हुँदैन’, उनले भने, ‘परिश्रमी साथी पहिलो र प्रिय साथी हुनेछ । जनताले मन पाएको नेताले टिकट पाउनेछ ।’

नेता खतिवडाले निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई अन्तर्घात गरेर हराउने गरेको भन्दै चिन्ता जनाए । ‘आफैले आफैलाई पिट्ने काम अन्त्य गर्दा कांग्रेसलाई कसैले जित्न सक्दैन । कांग्रेसको जित सुनिश्चित छ’, उनले भनेका छन् ।

दुईतिहाइको बहुमत पाएका केपी ओलीले शेरबहादुर देउवालाई सत्ता बुझाएको प्रशंग उठाएका खतिवडाले भने, ‘ओलीले सरकार चलाउन सक्दैन भनेर देउवालाई नै सुम्पिएका छन् । ओलीले म चलाउन सक्दैन देउवाले नै चलाउनु हुन्छ भन्नुभयो ।’
नेता खतिवडाले कांग्रेस मात्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले विश्वास गर्ने पार्टी भएको बताएका छन् ।

‘कम्युनिस्टहरू सधैँ झुठ बोल्छन्’, उनले भने, ‘ओखलढुंगा कांग्रेसको किल्ला भएको जिल्ला हो । कांग्रेसविरुद्ध विद्रोही उठ्दा पनि कांग्रेसले जितेको थियो । अहिले हामी किन हार्न थाल्यौँ ?’

कार्यक्रममा प्रदेश नं. १ का कांग्रेसको प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार, नेताहरू टंक राई, भुपेन्द्र राई, तेजेन्द्र खनाल, महेश कोर्मोचा, बालकृष्ण दाहाललगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 March 3, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया