अमेरिकाले बल्ल बुझ्यो नेपालका गृहमन्त्रीको शक्ति, भेट्न पुगे राजदूत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाणले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका छन् ।

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाणले भेटमा भने, ‘एकातीर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’

राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए ।

एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए ।

राजदूत बेरीले शरणार्थीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूताबास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए ।

Published : Wednesday, 2022 March 2, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया