अब प्रधानमन्त्री देउवा हात बाँधेर बस्नु हुन्न, वारपार हुन्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामहरि खतिवडाले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीका विषयमा दोहोरो चरित्र देखाउन नहुने टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा नेता खतिवडाले भने, ‘कि त एमसीसीको पक्षमा उभिनुपर्‍यो । होइन भने सरकार तत्काल छोड्नुपर्छ ।’

अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडिन थालेकोमा खतिवडाले चिन्ता जनाए ।

‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ । अहिले सबै दल त्यतातिर केन्द्रित हुनुपर्ने हो’, उनले भने, ‘अहिले हामी दुई विषयमा केन्द्रित भएका छौं ।’

उनले भने, ‘एउटा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाईएको छ, अर्को एमसीसी संसदमा टेबुल भएको छ ।’

कांग्रेस शुरुदेखि नै आफ्नो विचार र अडानमा अडिग रहँदै आएको उनले बताएका छन् ।

उनले सरकारमा सहभागी दलहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएकोमा चिन्ता जनाएका छन् ।

‘अब प्रधानमन्त्री मुख बाँधेर बस्नुहुँदैन् । सरकारमा बस्ने अनि प्रधानमन्त्रीले अघि सारेको प्रस्तावको विरोध गर्ने काम भैरहेको छ’, उनले भने, ‘अब उहाँले यस्ताखाले साथीहरूलई सत्तामा राख्नुहुन्न ।’

‘राजनीतिक स्वार्थ, भोट र सत्ताको दाउपेजको रुपमा प्रयोग गर्ने बानी अब नेताजीहरूले अन्त्य गरौं’, खतिवडाको सुझाव छ ।

उनले कांग्रेसले सत्ता वा प्रतिपक्ष जेमा हुँदा पनि एउटै कुरा गरेको र कहिले पनि बोली नफेरेको बताए ।

२०७६ साल असार ३० गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा अर्थमन्त्री युवराज खतिवडाले संसद् सचिवालयमा एमसीसीको प्रस्ताव दर्ता गराएको खतिवडाले बताए ।

‘दातृ निकायसँग भेट्दा, अमेरिकन भेट्यो भने पास गर्छु भन्ने अनि बाहिर अर्को मान्छे भेट्दा पास गर्नुहुँदैन भनेर बोल्ने कुरा गलत हो’, उनले भने, ‘कि सम्झौता नै गर्नुहुँदैन थियो । कुन प्रधानमन्त्रीको पालामा यो अघि बढेको हो भन्ने कुरा सबै प्रष्ट छ नि, यो त घामजत्तिकै छर्लंग छ । मुलुकलाई रणभूमि पार्नेगरि जानुहुँदैन् ।’

उनले पोखरा विमानस्थल बनाउन २ देखि ३ प्रतिशत ब्याजमा चीनसँग ऋण लिएको पनि स्मरण गराएका छन् ।

पोखरा विमानस्थल बनाउँदा ठेकेदार, कामदार, सामान सबै चीनबाट आईरहेको र २ किलोमिटरको पोखरा विमानस्थल बनाउन २५ अर्ब लागत लागिसकेको उनले बताएका छन् ।

तीन किलोमिटरको भैरहवामा विमानस्थल बनाउँदा ७ अर्बमा बनिसकेको पनि उनले स्मरण गराएका छन् ।

‘चीनसँगको ऋण हामीले तिर्नुपर्छ । त्यस्तो ऋण दिएर बनाउन हामी तयार हुने । तर, अमेरिकाले अनुदान दिँदा किन विरोध भएको होला ? अमेरिकाले दिने रकम हामीले भनेको क्षेत्र उर्जा र सडकको लागि लिने भनियो’, उनले भनेका छन्, ‘अहिले आएर राष्ट्रघाती भनेर विरोध गरियो ।’

Published : Saturday, 2022 February 26, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया