नेपाल–भारतबीच संयुक्त बैठक, विभिन्न सहमति
काठमाडौं । नेपाल र भारतले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिवस्तरीय संयुक्त कार्यदल तथा सचिवस्तरीय संयुक्त संचालक समितिको ९औं बैठक गरेका छन् ।
दुई दिन काठमाडौंमा बसेको संयुक्त संचालक समितिको बैठक हुनुअघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
बैठकमा दुवै पक्षले भारत–नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताइएको छ ।
नेपालमा विद्युत उत्पादन परियोजनाहरूको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति जनाएका छन् ।
नेपाली पक्षले काठमाडौंमा गरेको न्यानो स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गर्दै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय उर्जा क्षमताको स्थापना, एक राष्ट्र, एक ग्रीड, एक बजार योजनाका उपलब्धिहरू लगायत पछिल्लो क्रममा भारतको उर्जा क्षेत्रमा भएका विकासबारे जनाकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली पक्षले पनि भारतीय पक्षलाई उर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य र नेपालमा विद्युत मागको परिदृश्यका बारे जानकारी गराएको छ ।
उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ ।
भण्डारण परियोजनामा विशेष जोड दिँदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति भएको छ ।
दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्नेगरी सहमति भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया