यी दुई अनलाईनहरू कालोसूचीमा परे

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुई वटा अनलाईनहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

‘नेपालआज डटकम’ र ‘सगरमाथाखबर डटकम’लाई कालोसूचीमा राखेर कारवाही अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार बसेको आचारसंहिता अनुगमन उप–समितिको बैठकले ‘नेपालआज डटकम’ नामक अनलाईनलाई विज्ञापन, प्रेस पास तथा अन्य सेवा–सुविधा उपलब्ध नगराउन सञ्चार मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

‘नेपालआज’ले पत्रकारिताको न्यूनतम मूल्य–मान्यताविपरित सीमाबाहिर गई पेशाको चरम दुरुपयोग गरेको काउन्सिलले जनाएको छ ।

विभिन्न व्यक्तिहरूलाई ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिना आधार चरित्रहत्या गर्ने गरेको विषयमा काउन्सिलमा मौखिक तथा लिखित गुनासाहरू आएका थिए ।

नेपालआजविरुद्ध दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटक–पटक फोन गरी हैरानी दिने गरेको आरोप महिला पत्रकारबाट समेत परेको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पटक–पटक दिएको निर्देशनलाई अवज्ञा गरेको भन्दै सगरमाथाखबर डटकमलाई पनि कालोसूचीमा राखिएको छ ।

काउन्सिलले १०८ वटा दर्ता/सूचीकरण नभएका वेव पोर्टलहरू नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको जनाएको छ ।

Published : Friday, 2022 February 25, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया