कम्युनिस्टलाई विकास चाहिएको छैन, असला माछा र छेपारोको चिन्ता छ : गोविन्द भट्टराई
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्टहरूलाई असला माछा र छेपारोको चिन्ता रहेको भन्दै एमसीसीका विषयमा अनावश्यक विरोध गरिरहेको टिप्पणी गरेका छन् ।
बुधबार गृहजिल्ला तनहुँको आबुखैरेनीका विभिन्न तीन वटा खानेपानी आयोजनाहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले एमसीसीको विरोध आवश्यक नरहेको बताए । उनले विदेशबाट प्राप्त हुने सहयोग जस्तै एमसीसी पनि रहेको बताए ।
‘कांग्रेसले खुला अर्थतन्त्र बजारमा विश्वास गर्छ । हामी विदेशी लगानी स्वागत गर्छौं’, उनले भने, ‘विदेशी अनुदानलाई पनि स्वागत गर्छौं । ऋण अनुदान राष्ट्र हितमा छ कि छैन ? भनेर विश्लेषण गरेर स्वागत गर्ने कुरा हो ।’
नेता भट्टराईले भने, ‘कम्युनिस्ट जस्तो सत्तामा हुँदा एउटा कुरा, सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने हामी गर्दैनौँ ।’
‘अमेरिकासँग एमसीसी हामीलाई चाहिन्छ भनेर पहिला निवेदन हाल्ने कम्युनिस्ट हुन् । अमेरिकाले पैसा दिएपछि राष्ट्रघात देख्ने चरित्र नेपाली कांग्रेसमा छैन’, भट्टराईले भनेका छन् ।
‘अहिले उहाँहरूले जे हल्ला चलाइरहनुभएको छ त्यो गलत हो । हामीले योभन्दा अगाडि ऋण र अनुदानहरू धेरै ल्याएका छौँ’, नेता भट्टराईले भनेका छन् ।
‘पृथ्वीराजमार्गको धेरै भाग चाइनिजहरूले बनाएको हो । त्यसो भए के त्यो चाइनाको छ त आज ? बाइरोडको बाटो इण्डियाले बनाएको हो । के आज त्यो इण्डियाको छ त ? इण्डियनहरू आएर बसेको छ त ?’, प्रश्न गर्दै उनले भने, ‘पूर्वपश्चिम महेन्द्र राजमार्ग कतिपय स्थानमा रसियन सरकारले बनाएको छ । के आज रसियाको भयो त त्यो ?’
‘हामीले हाइड्रो पावरमा पनि विदेशी लगानी ल्याएका छौँ, त्यो आज उनको छ त ? छैन भने एमसीसी पनि त्यस्तै प्रोजेक्ट हो’, उनले भने, ‘ट्रन्समिशन बनाउने हो । नेपालको विद्युत विदेश लैजान पनि मिल्छ । किन्न पनि मिल्छ ।’
उनले भने, ‘ट्रान्समिशन बनाउने कुरालाई अमेरिकालाई बेच्यो, अमेरिका आउँछ, सैनिक आउँछ भन्ने कुरा सरासर झुठो हो । सैनिक आउने भएदेखित यती पैसा अमेरिकन सैनिकलाई, बस्न खानका लागि यती पैसा, गोलाबारीका लागि यती पैसा भनेर लेखिन्थ्यो होला नि त ? त्यहाँ त्यो लेखिएको छैन ।’
‘५० करोड डलरमध्ये ४० करोड बिजुलीको ट्रन्समिशन बनाउनमा खर्च गर्ने हो । बाँकी १० करोड डलर सडक बिस्तार र मर्मतमा खर्च हुन्छ’, नेता भट्टराईले भने, ‘अरु सडक बिस्तार र मर्मतमा खर्च गरेकै जस्तो हो नि त । वाहियात र कुतर्क गर्ने कुरामा केही तत्व लागेका छन् ।’
‘नेपालको हाइड्रोपावरमा विकास गर्नेभन्दा कम्युनिस्टको टाउको दुख्छ’, उनले भने, ‘यस अगाडि नेपालले २५ वर्ष अगाडि अरुण आयोजना गर्न खोज्दा, नेपाली कांग्रेसको पहलमा गिरिजाप्रसाद कोइरालाले गर्न खोज्दा कम्युनिस्टले त्यो आयोजना हामीलाई चाहिँदैन, असला माछा र छेपाराको बासस्थान खत्तम हुन्छ, वातावरण विग्रिन्छ भनेर चिठी लेखेर बिगारे ।’
उनले भने, ‘२५ वर्ष पछाडि आएर त्यो आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओली भएर शिलान्यास गरेका छन् । नचाहिने आयोजना थियो भने कि अहिले आएर शिलान्यास गरिएको छ ?’
‘यो एमसीसी आयोजना ५ वर्षमा सकिन्छ । अमेरिकी सेना आउँछ कि आउँदैन ५ वर्षमा देखिहालिन्छ नि । उहाँहरूलाई असला माछा र छेपारोको चिन्ता छ’ उनले भनेका छन् ।
‘तराईमा तातोले मान्छे मरेको उहाँहरूलाई चिन्ता छैन । हिमाली जिल्लामा चिसो बढेर मानिसहरू तल झर्नुपर्ने अवस्था छ । यो विषयमा चिन्ता छैन । समयमा हामीले बिजुली पु¥याउन सकेको भए त्यहाँ मानिसहरू आफ्नै घरभित्र बस्ने थिए । काठिएर मर्ने थिएन’, उनले भनेका छन् ।
कार्यक्रमहरूमा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेका साथै नेताहरू देवकुमार श्रेष्ठ, लक्ष्मीभक्त खनाल, रामचन्द्र अधिकारी, ध्रुबराज प्रधान, गिरिबहादुर थापा, पुष्पा श्रेष्ठ, कटकबहादुर थापा, बहादुर गुरुङ, जस्मिन खड्का, पवित्रा गौली, तेजबहादुर मगर, शालिकराम अधिकारीलगातको उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य भट्टराईले आफ्नो गृहजिल्ला तनहुँमा खानेपानीका धेरै आयोजनाहरू बनाएका छन् । दिदीबहिनीहरूलाई खानेपानीका लागि डोको बोकेर घण्टौँसम्म हिँडेर दुःख गर्नुपर्ने अवस्था अन्त्यका लागि नेता भट्टराईले अभियाननै चलाएका छन् ।
नेता भट्टराईले बुधबार एकैदिन आबुखैरेनीमा ३ वटा खानेपानीको उद्घाटन गरेका छन् । उनले आबुखैरेनी वार्ड नम्बर २ को एक्लेफाट खानेपानी तथा सरसफाइ समितिको योजना, अकला आधारभूत विद्यालय र मार्की चोक खानेपानी योजना तथा खानीखोला सरसफाइ तथा उपभोक्ता समितिअन्तर्गत योजनाको उद्घाटन गरेका छन् ।
















बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया