हाम्रो ध्यान कांग्रेस जिताउनेमा हुनुपर्छ, एमसीसीमा इमान्दारिता देखाऔँ : डा.महत
छहरे । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीका सबै तहका पदाधिकारी र कार्यकर्ताले समग्र ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
नुवाकोटको क्षेत्र नं १ कोे नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय र प्रदेश ‘ख’को प्रदेश क्षेत्रीय कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसले २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्दा देशको पूर्वाधार निर्माणका आयोजनाहरु प्रभावित भएको बताए । उनले कम्युनिस्टका कारण आर्थिक र सामाजिक विकासमा पनि असर परेको बताए ।
उनले भने, ‘कांग्रेसले निर्वाचन जितेको समयमा नुवाकोटका सडक आयोजनाहरुमा पर्याप्त बजेट परेको थियो । कांग्रेसले बहुमत पाउन सकेन । कम्युनिष्ट सरकारले यी सडकहरुमा पर्याप्त बजेट छुट्टयाएनन् ।’
‘त्यसको परिणाम तपाईहरुले देख्नुभएको छ । भोग्नुभएको छ । देशभरि कै यस्तै अवस्था छ’, डा.महतले भने ।
पूर्वमन्त्री समेत रहेका डा.महतले कार्यकर्ताहरुले पार्टीले आगामी निर्वाचनमा गठबन्धन गर्छ गर्दैन भन्ने चिन्ता नलिन आग्रह पनि गरेका छन् ।
‘निर्वाचनमा हरेक पार्टीमा आफूले बढी सीट जितौँ भन्ने चाहना हुन्छ । हामीले पनि बढी सिट जित्ने हो’, उनले भने, ‘त्यसबेलासम्म गठबन्धनका सबै दलले आफ्नो मूल्यांकन गर्नेछन् ।’
‘गठबन्धनबाट हामीलाई बढी लाभ हुन्छ भन्ने पार्टीले निक्र्यौल ग¥यो भने गठबन्धन हुन्छ । नभए पार्टीले आफ्नो बलबुतामा चुनाव लड्छ’, उनले भने, ‘हाम्रो तयारी पार्टीका सबै उम्मेदवारले चुनाव जित्ने ढंगले हुुनुपर्दछ ।’
उनले भने, ‘वडा तहसम्मका हाम्रा उम्मेदवारले चुनाव जित्ने गरी आजै देखि तयारी गर्नुहोला ।’
प्रवक्ता डा.महतले एमसीसीको बारेमा सत्ता गठबन्धनका साझेदार दलहरुले राजनीतिक इमान्दारी नदेखाउदा समस्या परेको बताए ।
उनले अमेरिकाले दिएको ६० देखि ६५ अर्ब विकास अनुदान लिने प्रक्रियामा सबै दलका सबै नेताहरु सहभागी भएको र अहिले संसदमा छलफलका लागि प्रस्तुत गर्न केही दलबाट अवरोध गरिएको बताए ।
‘हिजो ४ देखि ५ महिनाभित्र संसदबाट अअनुमोदन गर्छौं भनेर प्रचण्डजीले चिठी लेख्नुभएको हो’, उनले भने, ‘एमालेका वर्तमान अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उहाँकै सरकारले एमसीसी कार्यान्वयन सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको हो । अहिले संसदमा छलफल हुन दुवै दलबाट अवरोध भएको छ ।’
उनले अनुदान सहयोग नेपालले नै ठेक्का लगाउन पाउने, नेपालले नै लेखापरीक्षण गर्ने र निर्धारित समयमा सम्पन्न गर्ने जस्ता यसका प्रावधानले आगामी दिनमा नेपालमा आउने अनुदानमा नयाँ मापदण्ड निर्धारण गर्न यसले सघाउने पनि बताए ।
डा.महतले सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै सरकारले पेश गर्ने विषयमा सभामुखले सघाउनु पर्ने बताए ।
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का सभापति ध्रुब श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, केन्द्रीय सदस्य रामहरि खतिवडा, नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता तथा वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश राज्यमन्त्री कल्पना नेपाली, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत लगायतले धारणा राखेका थिए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया