कम्युनिस्टले जित्दासम्म विकास हुँदैन, एमसीसीमा धेरै भ्रम छरियो : केन्द्रीय सदस्य डा.पोखरेल

प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले कम्युनिस्टहरु हुँदासम्म देशको विकास नहुने बताएका छन् ।

गृहजिल्ला प्यूठानमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै डा.पोखरेलले कम्युनिस्टले कहिल्यै पनि विकास हुन नदिने बताए । उनले भने, ‘यो मुलुकमा कम्युनिस्टले जित्दासम्म विकास हुन सक्दैन । विकासका लागि कांग्रेसले जित्नुपर्छ ।’

एमसीसीका विषयमा कम्युनिस्टहरुले भ्रम छरेको केन्द्रीय सदस्य डा.पोखरेलले बताएका छन् । ‘एमसीसीका विषयमा भ्रम छरिएको छ । कम्युनिस्टले भने जस्तो एमसीसीमा कुनै गलत कुरा छैन’, उनले भने, ‘एमसीसीका बारेमा शुरुदेखि कम्युनिस्टले गलत कुरा भनेका छन् । भ्रम छरेका छन् । कम्युनिस्टको कुरा सुन्नु हुँदैन ।’

अमेरिकाले दिएको सहयोगलाई नेपाल सरकारले लिनुपर्ने उनले बताए । एमसीसी रोकियो भने नेपाललाई विदेशबाट प्राप्त हुने सहयोग रोकिन सक्ने उनले चेतावनी दिएका छन् ।

डा.पोखरेलले कांग्रेसलाई निर्वाचनमा केन्द्रित बनाउनुपर्ने बताए । उनले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए । निर्वाचनमा प्रतिस्प्रधीलाई हराउन र कांग्रेसका उम्मेदवारलाई जिताउन मिलेर जानुपर्ने डा.पोखरेलले बताए ।

डा.पोखरेलले कम्युनिस्टको कथित गढका रुपमा चिनिएको प्यूठानमा कांग्रेसलाई बचाउन योगदान गरेका नेताहरुलाई सम्मान गरिएको बताए । अग्रजहरुको योगदान भएकै कारण प्यूठानमा कांग्रेस बलियो हुँदै आएको उनले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा.पोखरेल र कांग्रेसका लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले प्यूठानमा माओवादीको आतंकका बेला समेत कांग्रेसलाई बचाइराख्ने नेताहरुलाई सम्मान गरेका थिए ।

Published : Saturday, 2022 February 19, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया