कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुस्, जे सहयोग चाहिन्छ म गर्छु : मोहन बस्नेत
बाह्रबिसे । नेपाली कांगेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा जनताको सुख, दुःखमा साथ दिने पार्टी कांग्रेस मात्र रहेको भन्दै विजयी गराउन आग्रह गरेका छन् ।
मंगलबार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाको लामोसाँगु बजारमा स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कोरोना महामारीले जनता आक्रान्त भएको बेला आफू बिरामी हुँदासमेत रातदिन खटिरहेको बताए ।
नेता बस्नेतले भने, ‘म गोडामा लागेको चोटका कारण अप्रेसन गरेर यस्तो अवस्थामा भएको तपाईहरू सबैले देख्नुभएकै छ । तथापि मेरो व्यक्तिगत चोटभन्दा यहाँका लाखौं जनताको स्वास्थ्य महत्वपूर्ण कुरा हो ।’
उनले भने, ‘यस्तो महामारीको समयमा सहयोग गर्नु मानवीय कर्म त हुँदै हो, कांग्रेस सदैव जनताकै पक्षमा रहेको प्रमाणित गर्नु पनि हो ।’
‘मेरो खुट्टाको अप्रेसन दोहोर्याएर गर्न मिल्छ । तर, चुनाव हारे दोहोर्याउन मिल्दैन’, बस्नेतले भने, ‘त्यसैले अब नजिकिँदै गरेको चुनावी अभियानमा सबै खटेर लाग्नुस् ।’
उनले भने, ‘जनताको समस्या घरघरमा पुगेर बुझ्नुस् । सके पूरा गराउनुस् । नसके पार्टीमा कुरा राख्नुस् सबै मिलेर हल गर्न तर्फ लाग्नुस् । त्यतिले नि नसके म छु ।’
नेता बस्नेतले आफू बिरामी हुँदा उपचार गर्न जति सहज छ सामान्य जनता बिरामी हुँदा उपचार गर्न कयौं गुणा कठिन रहेको बताए ।
कोरोनाको तेस्रो लहर चलिरहेको र जनताले सिटामोल समेत पाउन नसकेको अवस्थामा नेता बस्नेतको पहलमा वितरण भएको मास्क र प्यारासिटामोल लिएर टोलटोलमा जान सबै नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
नेता बस्नेतले अबको चुनावमा उम्मेदवारलाई टिकट आफूले बाँड्ने नभई इकाईदेखि सिफारिस भएर आएको व्यक्तिले पाउने बताएका छन् ।
‘जसले जनताको दुःख, पीडामा काम गरेको छ उसले टिकट पाउँछ र जित्नुपनि प¥यो’, बस्नेतले भनेका छन् ।
आफूले स्थानीय चुनावमा जोसुकैले टिकट पाएपनि वडा–वडामा पुगेर गर्नुपर्ने सहयोगको लागि तयार रहेको कांग्रेस नेता बस्नेतले बताएका छन् ।
देवेन्द्रबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू विष्णुविक्रम थापा, डा.प्रेमध्वज लामा, युवा नेता मीनकृष्ण महर्जन, युधिर पौडेल, जंगबहादुर तामाङ, राम तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
उनले सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाको केही वडामा रहेका जनसंख्या बराबर करीव १ लाख मास्क, हजारौं ट्याब्लेट प्यारासिटामोल तथा अन्य स्वास्थ्य सामग्री वितरण गरेका छन ।
यसैबीच, कार्यक्रममा विभिन्न गाउँपालिकाबाट एमाले र माओवादी केन्द्र परित्याग गरेर ७० जनाभन्दा बढी कांग्रेस प्रवेश गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया