राज्यमन्त्री श्रेष्ठले सरकारको यसरी शान बढाए, मिर्गौलाका बिरामीहरूले सुविधा पाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको भन्दै उपचारका लागि विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा धारणा राख्ने क्रममा राज्यमन्त्री श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमा व्यवस्थापन गर्नुपर्ने बताए । उनले समयमा व्यवस्थापन गर्न नसकिए ठूलो महामारी बेहोर्नुपर्ने बताएका छन् ।

‘नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको छ’, उनले भने, ‘पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी प्रत्यारोपण गर्नका लागि पनि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता छ ।’

राज्यमन्त्री श्रेष्ठले डायलासिस गर्नका लागि आवश्यक्तानुसारको सर्भिस सेन्टर नपुगेको बताए । जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाउनुपर्ने उनले बताउँदै यसलाई सर्वसुलभ बनाउनुपर्ने बताएका छन् ।

उनले सरकारले थोरैमा दुई सयदेखि तीन सय वटा डायलासिस सेन्टर बनाउनुपर्ने योजना बनाएको पनि बताएका छन् । उनले सरकारी अस्पतालहरूमा सुधार गर्नुपर्ने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले मिर्गौला प्रत्यारोपण र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने बताएका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नेपाललाई एक करोड ७७ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको बताएका छन् ।

तीन करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।

दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको उनले बताएका छन् ।

राज्यमन्त्रीमा नियुक्ति हुँदा कांग्रेस नेता श्रेष्ठको आलोचना भएको थियो । श्रेष्ठले कोरोनाविरुद्धको खोप र अभियानमा आफूलाई केन्द्रित बनाएर आलोचकहरूको मुख बन्द गरिदिएका छन् ।

दक्षिण एसियामा नेपालले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने देशमा तेस्रो नम्बरमा पर्छ । राज्यमन्त्री श्रेष्ठकै पहल र अग्रसरताले नेपालीहरूले कोरोनाविरुद्धको खोप छिटो लगाउन पाएका हुन् ।

Published : Thursday, 2021 September 23, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया