गृह मन्त्रीद्वारा तीन जना सीडीओसँग कुरा, सुरक्षाकर्मीहरूको उच्च प्रशंसा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट भएको नोक्सानीका विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई फोन गरेर जानकारी लिएका छन् ।

बिहीबार खाणले दाङ, कास्की र तनहुँका सीडीओहरूलाई फोन गरेर बाढीपहिरोबाट भएको नोक्सानी र जनधनको क्षतिबारे जानकारी लिएका हुन् । उनले विपतका बेला प्रहरीसहितका सुरक्षा निकायले गरेको उद्धारको कार्यको प्रशंसा गरेका छन् ।

गृहमन्त्री खाणले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य र दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई फोन गरेर जानकारी माग गरेको निजी सचिवालयले जनाएको छ ।

खाणले जोखिममा परेका जनतालाई उपयुक्त स्थानमा सार्नेदेखि उद्धार र राहतमा ध्यान दिन निर्देशन दिएका छन् । उनले सीमित साधन स्रोतका बाबजुद सुरक्षा निकायले गरेको कामको पनि प्रशंसा गरेका छन् ।

अबिरल वर्षाले खोलानाला बढ्ने र पहिरो जाने भन्दै खाणले समयमा जोखिम रहेका स्थानका जनतामा सूचनाहरू सम्प्रेषण गरेर सर्तक राख्न पनि आग्रह गरेका छन् ।

Published : Thursday, 2021 September 2, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया