साथीलाई सहयोग गर्न साँक्षी बस्नु अपराध होइन, आफ्नैले फसाउनु गलत होः कांग्रेस नेता मल्ल

कुश्मा । नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले साथीभाईको सहयोगका लागि साँक्षी बस्दा अनावश्यक झमेला ब्यहोर्नु परेको गुनासो गरेका छन् ।

शुक्रबार कुश्मामा पत्रकार सम्मेलन गरेर मल्लले कुनै साथीलाई सहयोग गर्न साँक्षी बस्दा मुद्धामामिला गरेर दुःख दिइएको बताए । उनले भने, ‘कुनै साथीभाइलाई म आफू साँक्षी बस्दा सहयोग हुन्छ भने साँक्षी बसेर सहयोग गरेको हुँ ।’

साँक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको मल्ले बताएका छन् ।

उनले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको डाह गर्नेहरूले नियोजित रूपमा फसाउन खोजेको आरोप समेत लगाएका छन् ।

मल्लले भने, ‘वास्तवमा लेनदेनको विषयमा साथीभाइहरूलाई अप्ठ्यारो परेका बेला साँक्षी जमानी बस्ने कुरा पितापुर्खाकै पालादेखि चलिआएको हो ।’

‘म पनि १०/१२ वर्ष पहिले धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको सदस्य भएको बेला बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको साँक्षी बसेको हुँ’, उनले भनेका छन् ।

‘त्यही साँक्षीका आधारमा ममाथि मुद्दा दर्ता भएको रहेछ’, उनले भने, ‘साँक्षी बसेर गरेको लेनदेनको व्यवहार यति लामो समयसम्म मिल्यो वा मिलेन भन्ने कुरा कुनै जानकारी नभएको र म पनि योबीचमा विभिन्न सामाजिक तथा राजनीतिक काम रहँदा त्यतापट्टि ध्यान दिन पनि सकिन ।’

‘पछिल्लो समय मलाई दोषी करार दिएर जिल्ला अदालतले जुन फैसला गरेको छ त्यो फैसलाले आश्चर्यमा पारेको छु’, मल्लले भनेका छन् ।
उनले आफूविरुद्ध परेको मुद्दाका विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार मैले उक्त मुद्धाको प्रतिउत्तर समेत लगाउन पाइन, यो विषयले मलाई निकै दुखित बनाएको छ’, मल्लले भने ।

लेनदेनको मुद्धामा दोषी ठहर भएका मल्लको नाममा मिनी बस छैन । सो बसको फाइनान्स नबिल बैंकले गरेको छ । बस हिमालयन इन्भेस्टमेन्ट नामक अटोमोबाइल कम्पनीको नाममा रहेको डकुमेन्टले देखाएको छ ।

अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपियाँ पनि नठगेको बताएका छन् । २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जवानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैले तिरिदिएको बताएका छन् ।

मल्लले आफूमाथि अन्याय भएको भन्दै थप कानूनी अधिकार प्राप्तिका लागि कदम चाल्ने बताएका छन् । उनले राजनीतिक षड्यन्त्र गर्न खोज्नेविरुद्ध समय आउँदा हिसाब लिने बताएका छन् ।

मल्लले आगामी कांग्रेसको १४औँ अधिवेशनमा पर्वत जिल्लामा सभापतिको दावी गरेका छन् । मल्लले सभापतिमा दाबी गरिरहेका बेला साँक्षी बसेको कुरालाई लिएर लेनदेनको मुद्धामा फसाइएको छ ।

मल्लले आफूले कसैलाई पनि ठगी नगरेको बताउँदै जनताको सेवामा लागेका बेला विरोधीहरूका गतिविधिलाई चिरेर आफू अगाडि बढ्ने बताएका छन् । राजनीति र अन्य काम गर्दा विरोधीहरूको विरोधलाई सामना गरेरै आफू अहिलेको ठाउँमा आएको भन्दै विरोधीहरूसँग झुकेर नबस्ने बताएका छन् ।

Published : Saturday, 2021 August 21, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया