नेपाल समूहको निर्णयले बालुवाटारमा धक्का, ओली समूहले तोरीको फूल देख्यो
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेता भीम आचार्यले शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णयलाई नमान्ने बताएका छन् ।
शनिबार बिहान एउटा एफएमसँगको अन्तर्वार्तामा नेता आचार्यले बालुवाटारमा गुटको बैठक बसेर गरिएको निर्णय मान्नुपर्ने आवश्यक्ता नरहेको बताए । उनले धम्कीको भाषाले आफूहरू नडराउने बताए ।
‘एमालेको केन्द्रीय कमिटीको बैठक बसेको छैन । गुटको बैठक मात्रै बसेको छ’, उनले भने, ‘पार्टी एकताको दिशामा लाग्नुपर्छ । एक वर्षदेखि एमालेभित्र गाइजात्रा भएको छ ।’
‘पुस ५ गते संसद विघटन भयो । अर्को पटक पनि विघटन भयो’, आचार्यले भने, ‘यो गर । त्यो गर भन्ने गर्दा पार्टी विभाजनतिर जान्छ । उपदेश दिने कुराले आफूलाई ठीक ठाउँमा पु¥याउँदैन ।’
उनले भने, ‘फागुन २८ गते केपी ओली गुटको बैठक बसेर निर्णय गर्नेवित्तिकै पार्टी फुटको दिशातिर गएको छ ।’
‘धम्की दिने कुराले पार्टी विभाजन हुन्छ । त्यस्ता धम्कीका भाषा ओलीले बोल्ने होइन’, नेता आचार्यले भने, ‘सबैलाई बोलाएर मिलाउने हिसावले जानुपर्छ ।’
एमालेका नेता आचार्यले प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय फिर्ता लिने हो भने हस्ताक्षर फिर्ता लिने बताए । ‘ओलीजीले संसद विघटन गर्ने निर्णय फिर्ता लिनुपर्छ । उहाँले निर्णय फिर्ता लिनुभयो भने हामीले पनि हस्ताक्षर फिर्ता लिन्छौँ ।’
उनले भने, ‘२०७५ जेठ २ गतेको केन्द्रीय कमिटी २०३ जनाको छ । अहिले २६१ को केन्द्रीय कमिटी छ । २६१ कसरी आयो ? ओली समूह जबरजस्ती ढंगले अगाडि बढेका छन् ।’
‘शुक्रबारको गुटको बैठक रोक्न भनेका थियौँ । छलफल गरेर एमालेको बैठक बसौँ र माओवादीबाट प्रवेश गरेका साथीहरूबारे निर्णय गरौँ भनेका थियौँ’, उनले भने, ‘गुटको बैठक नगरौँ भन्यौँ ।’
अध्यक्ष ओलीले गुटको बैठक राखेर बालुवाटारबाट हुने निर्णयको कुनै तुक नरहेको बताएका छन् ।
‘ओलीजीले एमालेको होइन गुटको बैठक गर्नुभएको छ’, उनले भने, ‘शुक्रबारको निर्णयलाई हामीले मान्दैनौँ । ओलीले कारबाही त गर्दै आउनुभएको छ । कति कारबाही गर्नु हुन्छ ? अरु निर्णय पनि गर्दै आउनुभएको छ । त्यसको अर्थ छैन ।’
नेता आचार्यले बिहीबार राति ओली र नेपालबीच टेलिफोन वार्ता भएर शुक्रबार भेटेर कुरा गर्ने सहमति भएको बताए । शुक्रबार बिहान ओलीले नै नेपालसँग भेट्न नमानेर एमालेको गुटको बैठक राखेको उनले आरोप लगाए ।
‘उहाँहरूका वीच टेलिफोनमा कुरा भएको थियो । मोटामोटी विवाद मिलाउने सहमति भएको थियो । शुक्रबार बिहान भेट गर्ने कुरा भएको थियो’, उनले भने, ‘किन भेट भएन ? इगो, इख, महत्वकांक्षा राखेर जाने हो भने कुरा मिल्दैन ।’
उनले भने, ‘शुक्रबार बिहान भेट गरेर वार्ता गर्ने, स्थायी कमिटीबाट निर्णय गर्ने सहमति थियो । राति टेलिफोन भयो, बिहान भेट हुन सकेन ।’
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले नै बिहीबार राति भएको टेलिफोन वार्ताको सहमति, कार्यदलको सुझाव र सम्वादलाई लत्याएर पार्टी विभाजनतिर लगेको उनले आरोप लगाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया