बालुवाटारभित्र ओलीद्वारा सुटुक्क चीनको प्रशंसा, कमरेड सी चिनफिङलाई बधाई

काठमाडौं । सत्तारुढ एमालेले चिनियाँ कम्युनिस्ट पार्टीको १००औँ वर्षगाँठका अवसरमा बधाइ तथा शुभकामना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको कन्द्रीय कमिटीको बैठकले चिनियाँ कम्युनिस्ट पार्टीलाई शुभकामना दिएको हो । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीलाई र कमरेड सी चिनफिङलाई बधाई दिएका थिए ।

‘यो बैठक पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद् उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कमरेड सी चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक बधाई ज्ञापन गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको छ, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन्’, प्रवक्ता प्रदीप ज्ञवालीले भनेका छन् ।

‘चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय छ’, एमालेले भनेको छ, ‘यो बैठक यी तमाम सफलता एवं उपलव्धिका लागि तथा सापेक्ष रुपमा समुन्नत समाजवादी मुलुक बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछ ।’

एमालेले भनेको छ, ‘त्यसरी नै दोश्रो शताब्दी लक्ष्य हासिल गर्न र चिनियाँ राष्ट्रको पुनरोदयको चिनियाँ सपना साकार पार्न पूर्ण सफलता प्राप्त होस् भन्ने चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कामरेड सि चिनफिङ र उहाँमार्फत चिनियाँ कमरेडहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

Published : Friday, 2021 July 2, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया