राप्रपाका शक्तिशाली केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य श्याम लामालाई पार्टी प्रवेश गराएका छन् ।

बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले राप्रपाका केन्द्रीय सदस्य लामासहित १५–२० जना नेता कार्यकर्तालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।

कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाको पहलमा राप्रपाका केन्द्रीय सदस्य लामा कांग्रेसमा प्रवेश गरेका हुन् । लामासँग १५–२० जना नेता कार्यकर्ताहरूलाई देउवाले खाला र टीका लगाएर पार्टीको सदस्यता दिएका छन् ।

कांग्रेसको सिद्धान्त मन परेपछि राप्रपालाई त्याग गरेर कांग्रेसमा प्रवेश गरेको लामाले बताएका छन् । उनले आगामी दिनमा कांग्रेसमा रहेर इमान्दार कार्यकर्ता बनेर जिम्मेवारीअनुसार काम गर्ने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सह–महामन्त्री डा.प्रकाशशरण महतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 July 1, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया