गण्डकमा देउवाले यसरी मिलाइदिए कुरा, दीपक मनाङे खुसीले मख्ख
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले मन्त्रीको कार्यविभाजनमा सहमति जुटाएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् विना विभागीयमन्त्री कुमार खड्काले मन्त्रीको कार्यविभाजनमा कुरा मिलेको बताए । उनले आइतबारसम्म मन्त्रीको कार्यविभाजन सक्ने सहमति भएको बताएका छन् ।
खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्ने भएका छन् । खड्काले अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमा दावी पेश गरेका थिए । खड्का नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् ।
जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने भएका छन् । यसअघि उनले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए ।
अर्थ मन्त्रालयमा कांग्रेस र माओवादीको पनि दाबी परेपछि आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका छन् ।
बिना विभागीयमन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । आफ्नो रुचिको मन्त्रालयको भन्दै गुरुङ खुसीले मख्ख परेको चर्चा छ ।
जेठ २९ गते गठन भएको मन्त्रिपरिषदका ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन् ।
मन्त्रीको कार्यविभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छैनन् ।
प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालय मध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले नै राखेका छन् ।
प्रदेश सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन नसकेको जसपा नेता एवं मन्त्री हरिशरण आचार्यले बताएका छन् ।
गण्डकीमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र १ जना स्वतन्त्र सांसदको गठबन्धन बनेको थियो ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तारमा समस्या भएपछि सहमति खोज्न मुख्यमन्त्री पोखरेल काठमाडौंमा आएका थिए ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका नेता उपेन्द्र यादव, बाबुराम भट्टराईसहितका नेताहरूलाई भेटेर सहमति बनाइदिन आग्रह गरेका थिए ।
सभापति देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेर गण्डकी प्रदेश मन्त्रिपरिषद विस्तारमा सहमति जुटाइदिएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया