एमबीबीएसका विद्यार्थीको पहलमा जलजलाले पायो दश लाखको स्वास्थ्य सामग्री
लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौमा एमबीबीएसमा अध्ययनरत राजेश शर्मा पौडेलको पहलमा दश लाख बराबरको स्वास्थ्य सामग्री गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’लाई हस्तान्तरण गरिएको छ ।
नेपाल मेडिकल एसोसिएसनमार्फत पौडेलले स्वाथ्य सामग्रीहरू ल्याएर आइतबार गाउँपालिकाका अध्यक्ष मल्ललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष अध्यक्ष मल्लले कोरोना भाइरसको संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि आवश्यक सहयोग गर्न अपील गरेका थिए । सोही अपीलअनुसार दाताहरूले स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् ।
पौडेलले ८ थान अक्सिजन कन्सेन्ट्रेटर, पीपीई सेट, माक्स र सेनिटाईजर लगायत करीब १० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष मल्लले बताए ।
पौडेल जलजला गाउँपालिका– ७ धाइरिङ, लामाबगरका स्थानीय हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एमबीबीएसमा अध्ययनरत छन् ।
नेपाली कांग्रेसका युवा नेता समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष मल्लले यसअघि नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीमार्फत झण्डै २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग ल्याएका थिए ।
अन्तर्राष्ट्रिय पर्वत सेवा समाजले पनि गाउँपालिकालाई स्वास्थ्य सामग्री यसअघि नै उपलब्ध गराएको छ ।
अध्यक्ष मल्लले स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन समन्वय गर्ने ओम शर्मा पौडेललाई समेत धन्यवाद दिएका छन् । मल्लले विभिन्न समयमा स्वास्थ्य सामग्री र अन्य सहयोगहरू गर्ने संघ संस्था, व्यक्तिलगायत सबैलाई धन्यावाद दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया