एमालेसँग ‘बिक्री’ भएको आरोप लागेका यी सांसदको दुइटा पद फुत्कियो, सांसद पनि जाने पक्का

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद एवम् केन्द्रीय सदस्य कृष्ण थापा कारबाहीमा परेका छन् ।

सांसद थापा एमालेको प्रलोभनमा परेको जनमोर्चाले अभियोग लगाएर पार्टीबाट कारबाही गरेको छ । थापालाई जनमोर्चाले प्रलोभनमा मात्र नभई बिक्री नै भएको आशंका गरेको छ ।

गण्डकी प्रदेशका एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएका थापालाई जनमोर्चाले कारबाही गरेको हो । जनमोर्चाले थापाको केन्द्रीय सदस्य पद र साधारण सदस्य दुबै पद खोसिदिएको छ ।

शनिबारको बसेको केन्द्रीय समितिको बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिएका छन् ।

थापाकलाई यसअघि जनमोर्चाले कारबाही गर्दै दलको नेताबाट हटाएको थियो । एमालेका मुख्यमन्त्री गुरुङको सरकार जोगाइदिएको आरोप खेप्दै आएका थापालाई सांसद पदबाट पनि कारबाही गर्न पहल भइरहेको भट्टले बताएका छन् ।

थापाले जनमोर्चालाई आँच आउने गरी काम गरेको महासचिव भट्टले बताएका छन् । थापाले पार्टी निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको भट्टको भनाइ छ । थापाले पार्टीको ह्वीपलाई उल्लंघन गरेका थिए ।

जनमोर्चाले विपक्षी गठबन्धनले गण्डकी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा साथ दिएको थियो ।

गण्डकी प्रदेश सरकार गठनको लागि निर्णयक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चाका सांसद थापाले एमाले पार्टीलाई सहयोग गरेका थिए । थापाकै कारण गुरुङको मुख्यमन्त्रीमा जोगिएको थियो ।

गण्डकी प्रदेशमा गुरुङ नेतृत्वको अल्पमतको सरकार छ । वैशाख २९ मा शपथ लिएका मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

Published : Sunday, 2021 May 23, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया