कांग्रेस नेता मल्लद्वारा ओली–भण्डारीको भण्डाफोर, महामारीमा जनताको जीवनभन्दा ठूलो निर्वाचन होइन
लामाखेत । नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवम् युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना महामारीका बेला कार्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको निर्वाचनलाई बेमौसमको बाजा भनेर टिप्पणी गरेका छन् ।
जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता मल्लले कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभए पनि कोरोनाका बेला जनताको रक्षा गर्ने बेला निर्वाचन गर्ने कुरा उचित नरहेको बताए ।
‘कार्तिक २६ गते र मंसिर ३ गते जुन निर्वाचनको घोषणा भएको छ । यो बेमौसमको बाजा हो’, उनले भने, ‘मुलुक कोरोना महामारीबाट आक्रान्त भएको र जनताहरूले औषधि र अक्सिजन नपाएको यो अवस्थामा निर्वाचनको कुरा गर्नु लज्जास्पद र हाँस्यास्पद कुरा हो ।’
उनले भने, ‘जीवित संसदको वध गरेर नयाँ संसदको लागि निर्वाचनको कुरा गर्ने केपी ओलीको नियतमा विश्वास छैन ।’
‘मुलुकलाई अस्थिरतातर्फ धकेल्ने, संविधानमाथि हस्तक्षेप गर्ने र आफ्नो अधिनायकवाद लादेर सत्ता र शक्तिको बलमा राज्यदोहन गर्ने ओली अतिवादको सबैले निन्दा गरौं र सशक्त प्रतिवाद गरौं’, उनले भनेका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार जारी गर्नुभएको वक्तव्यलाई लिएर एमाले अध्यक्ष केपी ओलीसहित केही नेता र कार्यकर्ताहरूले विभिन्न टिकाटिप्पणी गरेको पाइयो’, उनले भने ।
‘राष्ट्रपति जस्तो साझा र मर्यादित संस्थालाई आफ्नो निजी सचिवालयजस्तो बनाएर व्यक्ति स्वार्थका निम्ति उपयोग र प्रयोग गर्दै आएकाहरूको मुखबाट विधि, पद्दति र मर्यादाको कुरा सुन्दा सायद लाजलाई पनि एकचोटी लाज लाग्छ होला’, कांग्रेस युवा नेता मल्लले बताए ।
‘एमाले नेता र कार्यकर्ताहरूलाई यो पनि जानकारी होस् राष्ट्रपतिभन्दा पनि संविधान र व्यवस्था ठूलो हो र व्यवस्थाभन्दा देश ठूलो हो’, मल्लले चेतावनी शैलीमा भने, ‘पछिल्ला केही घटनाक्रमहरूमा राष्ट्रपति स्वयंले आफ्नो सीमा र मर्यादालाई नाघेर संविधान र लोकतान्त्रिक व्यवस्थामाथिनै आघात पुग्ने कर्महरू गर्दै आएको कुरा आम जनताहरूलाई थाह छ ।’
‘सत्ता र स्वार्थका लागि जस्तोसुकै हर्कत र षड्यन्त्र गर्ने प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्रीको तानाशाही षडयन्त्रमा लालमोहर लगाएर सदर गर्ने राष्ट्रपतिको पक्षपाति कर्मलाई समग्र देशवासीहरूले मूल्यांकन गरेकै छन्’, मल्लले भनेका छन् ।
‘दुईघण्टा अघिसम्म मात्रै म अल्पमतमा परेँ र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेको हुँ भनेर मिडिया र पत्रकारका अघि विलौना गर्ने केपी ओलीले १४९ जना सांसदहरूको हस्ताक्षर सहित नयाँ सरकारको प्रस्ताव लिएर शेरबहादुर देउवासहितका नेताहरू राष्ट्रपति कार्यालय गएर निवेदन दर्ता गरेपछि आफ्नो पक्षमा पनि बहुमत सांसद रहेको भनेर नक्कली कुरा गर्नुले एनकेन प्रकारेण केपी ओली सत्ता छोड्न चाहँदैनन् भन्ने प्रष्ट भएकै हो’, विज्ञप्तिमा उल्लेख छ ।
‘अघिल्लो दिनमात्रै नयाँ सरकारका लागि दलहरूलाई आह्वान गरेकी राष्ट्रपतिले संविधानबमोजिम नयाँ सरकारको गठनका लागि कांग्रेससहितका दलहरूले पेश गरेको विधिसम्मत प्रस्तावलाई लत्याएर प्रक्रिया पुगेन भनेर सूचना प्रकाशन गर्नु र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनजस्तो असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सदर गर्दै मध्यरातमा शीतलनिवासबाट राष्ट्रपतिले मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुले राष्ट्रपति संस्था र गरिमाको धज्जी उडेको छ’, कांग्रेसका युवा नेता मल्लले भनेका छन् ।
‘सम्पूर्ण लोक आश्चर्य चकित भएको छ’, उनले भने, ‘सायद यही कदमबाट राष्ट्रपति जस्तो मर्यादित संस्थामा दलको र कलंकको धव्वा लागेको छ ।’
प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि विरोध भइरहेका बेला कांग्रेसका युवा नेता मल्लले पनि विरोध जनाएका छन् । उनले कोरोनाबाट जनताको जीवन बचाउने पहिलो दायित्व राज्यको रहेको बताएका छन् । यस्तो कोरोना महामारीका बेला जनताको जीवनभन्दा ठूलो निर्वाचन हुन नसक्ने उनले बताएका छन् । कोरोना नियन्त्रण हुनेवित्तिकै निर्वाचनमा फेस गर्न कांग्रेस तयार रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया