तरुण दलसहित ६ युवा संगठनद्वारा ओलीका मतियारहरूलाई ठेगान लगाउने
काठमाडौं । विपक्षी गठबन्धन निकटका ६ वटा भ्रातृ संस्थाहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यको विरोध गरेका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहितका अध्यक्षहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषदको सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको घटनाले ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरे लगत्तै ओलीले आफ्नो पक्षमा बहुमत रहेको फर्जी दावी पेश गरे’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
‘देशलाई संवैधानिक संकटको दिशामा धकेल्दै राष्ट्रपतिले प्रधानमन्त्रीका लागि गरिएको दावि स्विकार गर्न नसक्ने जानकारी दिइन र प्रधानमन्त्री ओलीलाई संसद विघटनको सिफारिस गर्ने मार्ग प्रसस्त गरिदिइन्’, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ओली बास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमीकरणको दिशामा लान उद्यत छन् ।’
‘विदेशी शक्तिकेन्द्रहरूको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजनाअनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन’,
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘दुःखको कुरा देशको सर्वोच्चले समेत ओलीका असंवैधानिक कदमलाई रवरस्ट्याम्पको रुपमा मतियारी दिदैँ आएको छ ।’
‘संसद विघटनमार्फत संवैधानिक संकट निम्त्याउने ओलीको यस कदमको हामीहरू घोर भर्त्सना गर्न चाहन्छौ’, विज्ञप्तिमा भनिएको छ, ‘सवै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं ।’
‘राजनीतिक दलहरूलाई पटक–पटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशीघ्र कानूनी कठघरामा उभ्याउन माग गर्दछौं’, भ्रातृ संगठनहरूले भनेका छन्, ‘यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भईसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपील गर्दर्छौ ।’
उनीहरूले ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न युवाहरूलाई आव्हान गरेका छन् ।
‘तानशाहहरूलाई घुँडा टेकाएका छन्, युवाहरूको संयुक्त संघर्षमार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनैतिक स्थायित्वको अवस्थामा पुर्याउन हामीहरू सक्षम हुने छौं’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, योङ कम्युनिष्ट नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका नेता नरेशकुमार शाही, समाजवादी युवा संघ– नेपालका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अलिनकिशोर घिमिरे, विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मिया रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया