ओली–भण्डारीले ज्ञानेन्द्र पथ समात्नुभयो, अन्त्य हुने निश्चित छः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सबै सुतेका बेला मध्य राति संसद विघठन गरेर प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी ज्ञानेन्द्र पथमा गएको टिप्पणी गरेका छन् ।

शनिबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले ओली र भण्डारी देशका लागि घातक भएको बताए ।

‘उहाँहरूले संविधान, कानून, विधिको शासन मान्न छाड्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पथमा जानुभयो । ज्ञानेन्द्रले पनि रातिराति संसद भङ्ग गर्ने । देश र जनताविरुद्ध मध्य रातिनै निर्णय गर्नु हुन्थ्यो’, उनले भने, ‘ज्ञानेन्द्रको पथलाई ओली र भण्डारीले समात्नुभएको छ ।’

ओलीको सनकलाई राष्ट्रपति भण्डारीले लालमोहर लगाउने कार्यको कांग्रेस नेता खतिवडाले खुलेर विरोध गरेका छन् । उनले भने, ‘भण्डारीजी एमालेको उपाध्यक्षबाट माथि उठ्न सक्नुभएन । उहाँले राष्ट्रपति पदको गरिमा बचाउन सक्नुभएन । ओलीको कारिन्दा बन्नुभयो । उहाँलाई इतिहाँसले दण्ड दिनेछ ।’

खतिवडाले भने, ‘म कांग्रेसको इमान्दार कार्यकर्ता हुँ । ओली र भण्डारीको गैरसंवैधानिक कदमको विरोध गर्दै सच्याउन माग गर्दछु । विधिको शासनलाई स्थापित गर्नुपर्छ । कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी होइन । सामना गर्न तयार पनि छ ।’

Published : Saturday, 2021 May 22, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया