ओखलढुंगामा स्वास्थ्य सामग्री पठाउन स्वास्थ्य मन्त्रालयसँग कांग्रेस नेता खतिवडाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा कोरोना संक्रिमतलाई आवश्यक पर्ने औषधिसहित स्वास्थ्य सामग्रीहरूको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

पूर्वसांसद खतिवडाले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई रामशहापथस्थित मन्त्रालयमा भेटेर स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन माग गरेका हुन् । जवाफमा सचिव अर्यालले ओखलढुंगा जिल्लामा औषधिसहितका स्वास्थ्य सामग्रीहरू पठाउने अश्वासन दिएका छन् ।

खतिवडाले कोरोना परीक्षणमा आवश्यक पर्ने एन्टीजेन र पीसीआर किट पठाउन पनि सचिवसँग आग्रह गरेका छन् ।

खतिवडाले ओखलढुंगामा जनस्वास्थ्य कार्यालयलाई यातायातको अभाव भएको भन्दै गाडी उपलब्ध गराइदिन पनि अनुरोध गरेका छन् । सचिव अर्यालले तत्काल गाडी उपलब्ध गराउन नसक्ने केही समयपछि गाडीको व्यवस्था गर्न आफू सकारात्मक रहेको जवाफ दिएका छन् ।

खतिवडाले ओखलढुंगा जिल्लामै कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मेसिन राख्न पनि अनुरोध गरेका छन् । पीसीआर परीक्षणका लागि ओखलढुंगाका जनताले कम्तिमा पनि दुई दिन पर्खनुपर्ने अवस्था छ ।

सेनिटाइजर, मास्क, पीपीई सेट, अक्सिजन सिलिण्डरसहितका सामग्री ओखलढुंगामा पठाउन खतिवडाले सचिव अर्यालसँग अनुरोध गरेका हुन् ।

Published : Sunday, 2021 May 16, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया