कोरोना अस्पताल बनाउन पर्वत र स्याङजा कांग्रेसले दिए पार्टी कार्यालय
कुश्मा । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोना संक्रमितको उपचारमा लापरबाही गरिरहेका बेला नेपाली कांग्रेस पर्वतले कोरोना अस्थायी अस्पताल बनाउन आफ्नो पार्टी कार्यालय दिएको छ ।
पर्वतमा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन कुश्मास्थित वीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन कांग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।
कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड–१९ अस्पताल बनाउन दिने निर्णय गरिएको जानकारी दिए ।
जोशीले सुविधासम्पन्न कांग्रेसको पार्टी कार्यालयको भवनमा ५० शय्यासम्म राखेर संक्रमितको उपचार गर्न सकिने बताए ।
कुश्माबजारकै मुख्य भागमा रहेकाले कांग्रेसको पार्टी कार्यालयको भवनमा अस्पताल बनाउँदा सबैलाई सहज हुने केन्द्रीय सदस्य जोशीले बताएका छन् ।
कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी कोरोना अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
उता, नेपाली कांग्रेस स्याङ्जाले पनि पार्टी कार्यालयलाई आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ ।
कांग्रेस स्याङजाको पार्टी कार्यालयको भवन आइसोलेसन वा कोभिड अस्पताल बनाउन दिने निर्णय भएको कांग्रेसका कार्यबाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’ले जानकारी दिए ।
कांग्रेसको पार्टी कार्यालयको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षका रुपमा प्रयोग गर्न चाहेमा तत्काल दिने कार्यबाहक सभापति रानाले बताएका छन् ।
यसअघि, नुवाकोट कांग्रेसले पार्टी कार्यालयलाई अस्थायी कोरोना अस्पताल बनाउन अनुमति दिइसकेको छ ।
कम्युनिस्टहरू सत्ताका लागि लडीबुडी गरिरहेका बेला कांग्रेसले जनताको उपचारमा सहयोग पुगोस् भनेर पार्टी कार्यालयहरू धमाधम दिइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया