‘सुरक्षा’मा राष्ट्र कवि घिमिरेको राष्ट्रिय गीत

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावका शब्द समेटिएको एल्वम ‘सुरक्षा’ बिमोचन गरिएको छ ।

‘सुरक्षा’लाई राष्ट्र कवि माधवप्रसाद घिमिरले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बिमोचन गरेका हुन् । संगीतकार श्रेष्ठको यो २१औँ एल्वम पनि हो ।

‘सुरक्षा’मा राष्ट्र कवि माधवप्रसाद घिमिरे, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, नवराज लम्साल, रमेश क्षितिज, श्रीपुरुष ढकाल र भावेश भुमरीका शब्द रहेका छन् । राष्ट्र कवि घिमिरेको ‘किन्नरी किन्नरी’ नामक कविता संग्रहबाट यो गीत साभार गरिएको संगीतकार श्रेष्ठले बताए ।

‘सुरक्षा’ एल्वममा राष्ट्र कवि घिमिरेद्वारा लेखिएको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची…’ बोलको गीत १ नं.मा राखिएको छ । कालीप्रसाद रिजाल ‘सुन हे सुन तन्नेरी हो…’लाई दोस्रो स्थानमा राखिएको श्रेष्ठले बताए ।

बिमोचन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्र कवि घिमिरेले राष्ट्रिय भावले ओतप्रोत गीतहरूको अहिले झन् सान्दर्भिक रहेको बताएका छन् । देशको माया सबैलाई हुने बताएका घिमिरेले भने, ‘राष्ट्रप्रति सबैले माया गर्छन् । राष्ट्रियताप्रति श्रद्धाभाव कसलाई नहोला र ?’ राष्ट्र कवि घिमिरेले नयाँ पुस्ताले साहित्य, गीत र संगीतमा गरेको प्रगति देख्दा आफूलाई अर्को जुनी पनि पाउँ भन्ने जस्तो लाभ लाग्ने गरेको बताए ।

‘सरक्षा’ एल्वममा रहेको आफ्नो रचनालाई संगीतकार श्रेष्ठले उत्कृष्ठ बनाएको घिमिरेले बताए । ‘गीत राम्रो बनेको रहेछ । खुसी लागेको छ’, उनले भने, ‘यस्तै राम्रा गीतहरू निरन्तता रहोस् ।

गीतकार कालीप्रसाद रिजालले बजारमा आएका गीतसंगीतहरूप्रति केही टिप्पणी गर्दै भने, ‘गीत इमान्दार भएर लेख्नु पर्छ । म पनि गीत इमान्दार भएर लेख्छु वा लेख्दिन त्यो म भन्न सक्दिन । तर, तपाईले गीत लेख्नु हुन्छ भने आत्माबाट लेख्नुस् । कृतिम तरिकाले गीत नलेख्नुस् ।’ रिजालले भने, ‘बजारमा जति मेरा गीत आएका छन् त्यो भन्दा धेरै गीत च्यातिएका छन् । संगीतको बीचमा मार्केट आएको छ । मार्केटमा कस्ता गीत चल्छ त्यस्तै गीत लेखिदिनुपर्‍यो भन्ने परम्पराले गीतसंगीतमा बिक्री आएको छ ।’

वरिष्ठ संगीतकार दीपक जंगमले सन्तोष श्रेष्ठले जोखिम मोलेर राष्ट्रिय भावको गीति एल्वम ल्याएको भनेर टिप्पणी गरे । ‘सरकारी भाषामा भन्ने हो भने सन्तोषजीले अनप्रोडक्टिभ काम गर्नुभएको छ’, उनले भने, ‘राष्ट्रिय गीतहरू निजी त के सरकारी सञ्चारमाध्यमहरूले समेत बजाउँदैनन् । यस्तो अवस्थामा राष्ट्रिय गीत बनाएर राम्रो काम गर्नु भएको छ । जोखिम मोल्नु भएको छ ।’

निजी सञ्चारमाध्यमहरूप्रति आक्रामक देखिएका संगीतकार जंगमले भने, ‘राष्ट्रियताको आ–आफ्नै परिभाषा छ । मिडियाले राष्ट्रिय गीत बजाउँदैनन् । राष्ट्रिय गीत बजाउन लाज मान्छन् । छ महिनासम्म लगाएर गीत बन्छ । खर्च उस्तै हुन्छ । तर, मिडियामा यी गीतले ठाउँ पाउँदैनन् ।’ सरकारले पनि गीतसंगीतमा कति खर्च गरेको छ सबैलाई थाहा रहेको भन्दै उनले भने, ‘राष्ट्रिय भावका गीतहरूलाई मिडियाले स्थान दिनुपर्छ ।’

बिमोचन कार्यक्रममा संगीतकार दीपक जंगम, अधिवक्ता भीमार्जुन आचार्य, संगीतकार शक्ति वल्लभ, विश्व वल्लभ, चुडामणि देवकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, प्राज्ञ ज्योतिप्रकाश, मनोहर सुनाम, आनन्द कार्की, अमूल कार्की ढली, सञ्चारकर्मी शान्ति प्रिय, सहितका गायक गायिका, संगीतकार, साहित्यकारलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2018 January 7, 11:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया