जनकपुर जिल्लाव्यापी चेसमा चार खेलाडीको अग्रता

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० द्वारा आयोजित दोस्रो जनकपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको तेस्रो चरणका खेल सम्पन्न भएका छन् ।

सेमी क्लासिकल ४० मिनेट १० सेकेन्ड इनक्रिमेन्ट समयसीमा रहेको बुद्धिचाल प्रतियोगितामा चारजना खेलाडीले समान ३ अंक जोडेर अग्रता बनाएका छन् ।

स्पर्धा टाईब्रेक नियमका आधारमा वडा नम्बर ११ का अनरेटेड इस्लाम रईन, १६६४ रेटेड सूर्य नारायण दास, वडा नम्बर १० का अनरेटेड सत्यम झा तथा सुरेन्द्र भगतले संयुक्त रुपमा अग्रता लिन सफल भएका छन् ।

शुक्रबार सम्पन्न तीन चरणका खेलहरूमा इस्लाम रईनले क्रमशः अवधेशकुमार ठाकुर, युवराज गुप्ता र प्रशान्त अरविनलाई पराजित गरेका छन् । सूर्यनारायण दासले शुभम पूर्वे, अवनीत राय र वीरेन्द्रकुमार महतोलाई हराएका छन् ।

सत्यम झाले आर्यन रौनियार, सुनिलकुमार ठाकुर र युवराजबाबु शाहलाई तथा सुरेन्द्र भगतले शिवमदेव शाह, शिवम् पूर्वे र चन्दनकुमार शर्मालाई पराजित गरेका छन् ।

प्रतिस्पर्धामा २ अंकसहित वीरेन्द्रकुमार महतो पाँचौँ, अवनित राय छैटौँ, युवराज गुप्ता सातौँ, युवराजबाबु शाह आठौँ, अभिषेककुमार ठाकुर नवौँ र प्रशान्त अरविन्द दशौँ स्थानमा रहेका छन् ।

प्रतियोगिताको चौथो चरणको खेल शनिबार सत्यम र सूर्यनारायणबीच चल्नेछ । अर्को खेल सुरेन्द्र भगत र इस्लाम रईनबीच चल्नेछ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मिथिलेशकुमार कर्ण, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, मधेश प्रदेश गोजोरियो कराते संघका अध्यक्ष राकेश पाठक, बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामसुरत शाह, महिला नेत्री सम्झना बर्मा सहितको उपस्थिति रहेको थियो ।

जम्मा ३१ खेलाडीले नाम दर्ता गरि सहभागी जनाएको बुद्धिचाल प्रतियोगिताका विजयी खेलाडीहरूले वडा नम्बर १० बाट प्रदान गरिने नगद रु. ३० हजार पुरस्कार हात पार्नेछन् ।

Published : Friday, 2026 November 27, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया