लुम्बिनी कांग्रेसको सभापतिमा युवा नेता रोज राणा सर्वसम्मत निर्वाचित

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनले पूर्वमन्त्री समेत रहेका युवा नेता रोज राणालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेका छ ।

नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट राणा सभापतिमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापतिमा निर्वाचित भएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले राणालाई बधाई दिएका छन् । उनले राणालाई कार्यकालको शुभकामना समेत दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारको दुई पटक मन्त्री बनेका राणा प्यूठान जिल्लाबाट लुम्बिनी प्रदेश सभा सदस्य (सांसद)मा निर्वाचित भएका हुन् । लुम्बिनी सरकारमा पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकासमन्त्री बनेका राणा दुई कार्यकाल प्यूठानको क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी कांग्रेसको अधिवेशनलाई उद्घाटन गरेका थिए । अधिवेशनलाई नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा.प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन, गण्डकी प्रदेश सभापति मेखलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

Published : Monday, 2026 November 23, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया