बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

जावलाखेल । कर्णाली प्रदेशमा सञ्चालन हुने नेपाल सरकार खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आयोजना रहने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौँडा, मकवानपुरको आयोजनामा बुद्धिचाल खेलको छनौट प्रतियोगिता आइतबार सुरु भएको छ ।

कर्णाली प्रदेशमा मंसिर १६ गतेदेखि २७ गतेसम्म बुद्धिचाल प्रतियोगिता हुनेछ । ललितपुरस्थित जु जु सवाः नेवारी रेस्टुरेन्ट आँगन, नखु दोबाटोमा सञ्चालन भएको बागमती प्रदेशस्तरीय बुद्धिचाल छनौट स्पर्धा क्लासिकल खेल विधातर्फ ९ जिल्लाका ३५ जना पुरुष तथा ६ जिल्लाका २० जना महिला खेलाडीहरू प्रतिस्पर्धामा छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले ३२ खेलमध्ये २९ खेलहरूको छनोट सम्पन्न गरिसकेको छभने तीन खेलमध्ये उसु, बुद्धिचाल र एथलेटिक्सको खेल छनोट जारी रहेको छ ।

बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोटका लागि प्राविधिक संयोजक राजु ताम्राकार, सदस्य ज्ञानेन्द्र खाइजु र सदस्य मनोज घिमिरेको टोलीले ४५ मिनेट ३० सेकेन्डको क्लासिकल, १० मिनेट ५ सेकेन्डको र्‍यापिड तथा ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिट्ज विधामा १२ जना खेलाडी छनोट गर्नेछन् ।

पहिलो चरणको खेल सम्पन्न हुँदा शीर्ष खेलाडीहरूले विजय प्राप्त गर्दै सुखद् सुरुवात गरेका छन् । प्रतिस्पर्धामा चितवनका राजु त्रिपाठी, ललितपुरका सुरज महर्जन, कमल श्रेष्ठ, चितवनका सत्यम शर्मा, काठमाडौँका प्रतीक सुवेदीले जीतसँगै २ अङ्क जोड्न सफल भएका छन् ।

काठमाडौंका सीएम नवीन तण्डुकार, ललितपुरका रत्न व्यञ्जनकार, दोलखाका राजिव कार्की, ललितपुरका अशोक मोहन श्रेष्ठ, मकवानपुरका सुन्दर कार्की, भक्तपुरका पुरुषोत्तम दुवाल, काठमाडौँका आशानारायण लवटले समान दुई अङ्क बनाएका छन् ।

पहिलो चरणमा विजय प्राप्त गर्ने अन्य खेलाडीहरूमा ललितपुरका सानुभाइ महर्जन, दोलखाका कविन्द्र शिवाकोटी र काभ्रे पलाञ्चोकका श्याम मानन्धर रहे ।

क्लासिकल विधातर्फ जम्मा सात चरणको खेल स्पर्धा चल्ने छ । दोस्रो चरणको प्रतिस्पर्धामा सुरोज महर्जन र सुन्दर कार्की, अशोक मोहन श्रेष्ठ र कमल श्रेष्ठ, सत्यम शर्मा र पुरुषोत्तम दुवाल, आशा नारायण लवट र प्रतीक सुवेदीबीच चलिरहेको छ ।

कविन्द्र शिवाकोटी र शैलेन्द्र न्यौपाने, सिएम नवीन तण्डुकार र सानु भाइ महर्जन, रत्न व्यञ्जनकार र श्याम मानन्धर तथा राजु त्रिपाठी र राजिव कार्कीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

यसैगरी महिला विधातर्फ ओजस्वी श्रेष्ठ, लक्ष्मी कँडेल, ग्लोसी श्रेष्ठ, शुभेच्छा घिमिरे, राधिका केसी, राजश्री कुसी, नेलिसा ओझा, मानस्विनी शर्मा, शुभश्री श्रेष्ठले समान एक अङ्क जोडेका छन् । यसस्वी महर्जन र श्रीयश्री तुलाधर शून्य दशमलव ५ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

बीच नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन तथा पूर्व अध्यक्ष बिदुरप्रसाद गौतमले प्रतियोगिताको उद्घाटन गरेका छन् । कार्यक्रममा विश्व बुद्धिचाल महासङ्घ रुल्स कमिसन पार्षद् उमेश केसीको उपस्थिति रहेको थियो ।

गत भदौ १० गतेको भोटेकोशी बाढीमा आफ्ना परिवारजन गुमाएका नुवाकोट जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष प्रकाश जोशीको उपस्थितिमा दोस्रो चरणको खेल शुभारम्भ गरिएको छ ।

Published : Sunday, 2026 November 22, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया