सिलवालले जिते रापिड बुद्धिचालको उपाधि

काठमाडौं । काठमाडौं स्पोट्र्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालित केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम सिलवालले जितेका छन् ।

उपाधि जित्ने क्रममा फाइनल खेल खेल्दै युवा खेलाडी पुरुषोत्तमले सुरज महर्जनसंग बराबरी गरे भने आठौं चरणको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाललाई पराजित गरे ।

युवा उदीयमान खेलाडी पुरुषोत्तमले प्रतियोगितामा ८ अंकसहित उपाधि हात पार्दै नगद रु. ५० हजारसहित ट्रफि लिन सफल भएका छन् ।

प्रतिस्पर्धामा समान ८ अंक जोडेका रुपेश जैशवाल पुरुषोत्तमसंग ट्राइबेकरको आधारमा पछाडि रहेर दोस्रो स्थानमा रहे । उनले नगद रु. ३० हजार पुरस्कार प्राप्त गरे । रुपेशले नवौं चरणको खेलमा काठमाडौंका सिनियर खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएका थिए ।

ललितपुरका सुरज महर्जन ७ दशमलब ५ अंक सहित तेस्रो स्थान ओगटेका छन् । उनले २० हजार नगद पुरस्कार पाए । कुल २ लाख नगद पुरस्कार भएको दुई दिने प्रतियोगिताममा दोलखाका आशिष फुयाल र सन्देश बरुवाल चौथो र पाँचौ स्थानमा रहेका थिए ।

खोटाङका धिरेन राई, सुनसरीका मुहान नर्सिङ केसी, ललितपुरका राजन पुरी, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अभिक शाह क्रमश छैटौदेखि दशौं स्थानमा रहेका छन् ।

महिलातर्फको उपाधि मोरङकी शान्ति धिमालले हात पारिन् । स्पर्धामा काठमाडौंका राधिका पौडेल दोश्रो तथा कुसुम घिसिङ तेश्रो भइन् ।

महिलातर्फ चौथोदेखि दशौं स्थानसम्म प्रज्ञापन्त, सोनालीका श्राफ, काठमाडौंकी नेलिसा ओझा, ललितपुरकी त्रिसारा लामा, काठमाडौंकी इसिका श्रेष्ठ, एमसिका श्रेष्ठ र सुहानी सिंहले क्रमशः नगद पुरस्कार पाउन सफल भए ।

उत्कृष्ट लोकलमा वडा नं १६ भेट्रान खेलाडी जनार्दन श्रेष्ठ, दोस्रोमा मोहम्मद इमरान खान, बेस्ट केएम सिमा नविन तण्डुकार, भेट्रानमा बद्रीलाल नेपाली पहिलो भए ।

सविनप्रकाश सैजंले प्रथम स्थानमा रहे । युवा १६ मा शुभमदीप थापा, युवा १४ मा प्रबीर केसी, युवा १२ मा हार्दिक पन्त र युवा राजन शाह उत्कृष्ट ठहरिए ।

काठमाडौं स्पोट्र्स क्लबका अध्यक्ष नारायणदास गमालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि कामपा वडा नं १६ का अध्यक्ष रोजिना श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे ।

एकसय तेईस जना खेलाडीहरू सहभागी रहेको राष्ट्रिय चेस प्रतियोगिताको अर्को संस्करण निरन्तर रहने रोजिना श्रेष्ठले जानकारी गराएका छन् ।

Published : Wednesday, 2026 November 4, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया