गगनजीलाई हेर्नुस् त, पार्टी नै फोडेर हिँड्ने हो ? महामन्त्री भएको मान्छे : संयोजक प्रा.डा.कोइराला
पोखरा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीमा पूर्ण एकता आवश्यक रहेको बताएका छन् ।
आइतबार नेपाली कांग्रेस कास्की जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै प्रा.डा.कोइरालाले चुनावअघिको गठबन्धन गर्न नहुने र पार्टीको पूर्ण एकता आवश्यक रहेको बताए ।
उनले भने, ‘म दोहो¥याएर, तेह¥याएर भन्छु हामी एकताबद्ध हुनुपर्छ । हामीले एकताबद्ध रूपमा अगाडि बढ्नुप¥यो । नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
‘कुनै तागत छैन नेपाली कांग्रेसलाई हराउन । तर, कसैले एकता तोड्यो भने कांग्रेसको स्थिति राम्रो हुँदैन,’ संयोजक प्रा.डा.कोइरालाले भने, ‘त्यसैले एकताबद्ध भएर जाउँ ।’
चुनावी गठबन्धनका कारण पार्टीलाई दीर्घकालीन रूपमा क्षति पुगेको उनले बताएका छन् । अब चुनावअघि कुनै गठबन्धन गर्न नहुने प्रा.डा.कोइरालाले बताए ।
‘चुनावमा जाँदा हामीले एक्लै लड्नुपर्छ । चुनावपछि गठबन्धन गर्ने त्यो अर्को कुरा हो,’ उनले भने, ‘चुनावअगावै गठबन्धन गरेर कांग्रेसलाई नै हानी भइरहेको छ । बरु एकपटक हारौँला, अर्को पटक जितिन्छ नि ।’
उनले पार्टी सभापतिको अधिकार र संरचना बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी सभापतिलाई बढी अधिकार दिएको भए गगन थापाले कांग्रेस फुटाउन नसक्ने उनले बताएका छन् ।
‘चुनाव गर्दा सभापतिको लागि मात्र चुनाव हुनुपर्छ । राम्रो मान्छे चुन्न जरुरी छ,’ प्रा.डा.कोइरालाले भने, ‘सभापति भइसकेपछि उसले ७५ प्रतिशत आफ्नो मान्छेहरू राख्छ, २५ प्रतिशत मात्रै चुनाव गराउनुपर्छ ।’
उनले भने, ‘सभापति भइसकेपछि पार्टी आफ्नो हातमा हुनुपर्यो नि, भनेको मान्नुप¥यो नि । गगनजीलाई हेर्नुस् त, पार्टी नै फोडेर हिँड्ने हो ? महामन्त्री भएको मान्छे ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया