सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् आईजीपी कार्कीले भने, ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ ।’
‘साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ आईजीपी कार्कीले भने, ‘विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौँ ।’
उनले भने, ‘यहाँहरू सबैलाई जानकारी नै छ, वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने परिस्थिति एवं सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्नु अहिले हामी सबैको साझा दायित्व हो ।’
‘विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ,’ आईजीपी कार्कीले भने ।
‘यस क्रममा यहाँहरूको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ,’ कार्कीले भने, ‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्वपूर्ण भूमिका रहन्छ ।’
पत्रकारहरू पक्राउ परेको विषयमा विभिन्न खालका टिकाटिप्पणीहरू आइरहेका बेला आईजीपी कार्कीले सञ्चारकर्ममा सत्यतथ्य र साहसिक समाचार लेख्ने सञ्चारकर्मीलाई सहयोग गर्ने दृढता व्यक्त गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया