अख्तियारद्वारा घुस लिने दुई भूमि अधिकृतसहितको समूहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका भूमि प्रशासन अधिकृतद्वय अर्जुनदेव योङ्या र नवीनकुमार गोले समेतको समूहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार अख्तियारले विशेष अदालत, काठमाडौंमा ललितपुरका भूमि प्रशासन अधिकृतद्वय अर्जुनदेव योङ्या र नवीनकुमार गोले समेतको समूहविरुद्ध आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस वापत तीन लाख रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानको सिलसिलामा भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका भूमि प्रशासन अधिकृतहरू अर्जुनदेव योङ्या र नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोख्रेल, राजकुमार मगर र विसाल सुन्दास, खरिदारहरू नरेन्द्रबहादुर बस्नेत, भक्तबहादुर राना र सहायक कम्प्युटर अपरेटर इन्दु दाहाल, ललितपुर महानगरपालिका, वडा नं. ४ का वडाध्यक्ष सन्तोष खड्कासमेतले अन्य प्रतिवादीहरू लेखापढी व्यवसायी शैलेन्द्र राना मगर र समिर कट्वालसमेतसँगको मिलेमतो तथा योजनामा जिल्ला ललितपुर, साविक ललितपुर नगर, वडा नं. ४ध को जग्गा अंश बुझेको भरपाई लिखत पारित गर्न गराउन तीन लाख रूपियाँ माग गरेका थिए । ३ लाख रुपियाँ घुसवापत लिएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरको भूमि प्रशासन अधिकृतहरू अर्जुनदेव योङ्या, नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोख्रेल, राजकुमार मगर, विसाल सुन्दास, खरिदारहरू नरेन्द्रबहादुर बस्नेत, भक्तबहादुर राना, सहायक कम्प्युटर अपरेटर इन्दु दाहाल र ललितपुर महानगरपालिका ४ नं. वडाका वडाध्यक्ष सन्तोष खड्कालाई बिगो तीन लाख रूपियाँ कायम गरी सोही बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
लेखापढी व्यवसायीहरू शैलेन्द्र राना मगर र समिर कट्वाललाई बिगो तीन लाख रूपियाँ कायम गरी सोही बिगोबमोजिम कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानूनी प्रकृतिको लाभ लिने मतियारको रुपमा मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया