अडियो काण्डपछि खगेन्द्र सुनारलाई रास्वपाद्वारा प्रारम्भीक कारबाही, दशैंको बेला दशा लाग्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना विवादित सांसद खगेन्द्र सुनारका विषयमा कठोर कदम उठाएको छ ।
एक महिला र बच्चालाई हत्या गर्नेदेखि निच शब्दावलीसहितको गालीगलौज तथा धम्कीको अडियो सार्वजनिक भएपछि सुनार विवादमा परेका बेला रास्वपाले सांसद सुनारको अडियो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मंगलबार रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘सञ्चारमाध्यममार्फत् आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।’
महामन्त्री आचार्यले भने, ‘महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसूरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौं ।’
‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ महामन्त्री आचार्यले चेतावनी शैलीमा भने, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।’
महामन्त्री आचार्यले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
‘कानूनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ,’ महामन्त्री आचार्यले भने, ‘राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ ।’
‘कानूनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो–कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौं,’ रास्वपाका महामन्त्री आचार्यले भने ।
रास्वपाका विवादित सांसद सुनारले एक महिलालाई फोनबाट दुई÷तीन वर्ष अगाडि दिएको धम्कीको सम्पादन गरिएको अडियो जनआस्थाको अनलाइन संस्करणले मंगलबार सार्वजनिक गरेको छ । अडियो सार्वजनिक भएपछि सांसद सुनारको आलोचना भइरहेको छ । महामन्त्री आचार्यको प्रेस विज्ञप्तिसहित सांसद सुनार पार्टीमा प्रारम्भीक कारबाहीमा परेका छन् ।
सांसद सुनार सम्पर्क विहीन छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् आफ्नो बचाउमा बोलेका छन् । यद्यपि, सांसद सुनारको कर्तुतलाई रास्वपाले बोक्न चाहेको छैन ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया