२.० कांग्रेसमा नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपेर जम्बो बनाउने

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी र सदस्यहरूमा धेरै नेताहरू आकांक्षी भएपछि नेताहरूलाई व्यवस्थापन गर्न बदलिएको २.० कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ ।

विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावभन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी भएको छ । नेताहरूलाई व्यवस्थापन गर्न गगन थापाले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको संख्या थप गर्न लागेका हुन् ।

बदलिएको २.० कांग्रेसको हाल विधानमा भएको व्यवस्थामा केन्द्रीय सदस्य २३१ जना हुनेछ । पदाधिकारी १७ जना हुने विधानको व्यवस्थामा पनि संशोधन हुने भएको छ ।

उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी संशोधन गर्न लागिएको स्रोतले जनाएको छ । दुई उपसभापति हुने विधानको व्यवस्थामा एक जना थप्ने गरी संशोधन गर्न लागिएको छ । त्यसमध्ये एकजना वरिष्ठ उपसभापति हुनेछ ।

उपसभापतिमा पनि महिला कोटा सुरक्षित गर्ने गरी विधान संशोधन गरिने भएको छ ।

महामन्त्री पद भने दुई जना नै हुनेछ । पदाधिकारीमा सहमहामन्त्री पद पनि थप्न लागिएको छ । सहमहामन्त्रीमा खुलातर्फ पनि प्रतिस्पर्धा हुने गरी नयाँ व्यवस्था राख्न लागिएको छ ।

विद्यमान व्यवस्था अनुसार जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरमा प्रतिस्पर्धा गर्ने व्यवस्था छ । समावेशी क्लस्टरको अतिरिक्त सहमहामन्त्रीमा खुला पनि राख्न लागिएको छ ।

केन्द्रीय सदस्यको पद पनि थप सिर्जना गर्न लागिएको छ । खुलातर्फ ३५ जना हुने हालको व्यवस्थामा संशोधन गरेर संख्या थप्न लागिएको लागिएको छ । कति जना थप्नेबारे छलफलको चरणमै रहेको नेताहरूले बताएका छन् ।

प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले २३१ केन्द्रीय सदस्यमा ६१ जना सभापतिले मनोनीत गर्ने गरी विधान बनाएको थियो ।

वरिष्ठ उपसभापित सहित सहमहामन्त्री, केन्द्रीय सदस्य थप्दा हुने संख्याको बारेमा मस्यौदा समिति छलफलकै क्रममा रहेको रहेको एक नेताले बताएका छन् ।

३५ वर्ष मुनिबाट २१ जना, पेशातग, बुद्धिजीवी लगायतबाट छनोट हुने ७, जनसम्पर्क समितिबाट चयन हुने ६ जनाको व्यवस्थामा भने संशोधन नहुने जानकारी गराइएको छ ।

Published : Sunday, 2026 October 4, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया