सरकारी ठेक्का ह्याकिङ प्रकरणमा सीआईबीद्वारा नाम चलेका ठूला थप ९ ठेकदारलाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी ठेक्का ह्याकिङ प्रकरणमा थप नौ ठेकदारलाई पक्राउ गरेको छ ।
सीआइबीले शुक्रबार र शनिबार गरेर नौ ठेकदारलाई पक्राउ गरेको हो । म्याद थप गरेपछि उनीहरूको विवरण सार्वजनिक गर्ने सीआइबी निकट उच्च स्रोतले जनाएको छ ।
यसअघि सीआईबीले पूर्वमन्त्री बिक्रम पाण्डेसहित २२ जनालाई पक्राउ गरी गत बैशाखमा मुद्दा दायर गरेको थियो ।
दोस्रो चरणमा अनुसन्धान गरी थप ठेकदारलाई प्रहरीले पक्राउ गरेको हो । ह्याकिङकै कारण हालसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयको इबिडिङ अनलाइन प्रणाली डेढ महिनादेखि बन्द छ ।
यसअघि प्रहरीले यस प्रकरणमा विद्युतीय अपराध, संगठित अपराध र अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।
पूर्वमन्त्री पाण्डेसहित कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आइकोन प्रालिका स्वदेश पोखरेल, चपुर निर्माण सेवाका अमृत बोहरा, भिसान कन्ट्रक्सनका टंककुमार श्रेष्ठ, सिभांस निर्माण सेवाका अनिल श्रेष्ठ, गीताञ्जली कन्ट्रक्सनका जीवनकुमार दास, कटुवाल कन्ट्रक्सनका सागर कटवाल, थुम्का निर्माण सेवाका संजय भट्ट, आशिष निर्माण सेवाका ऋषिकेश गौली, इन्जिनियर भाष्करराज अर्याल, भरत धामी र सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर मुद्दा दायर भएको हो । जसमध्ये कम्प्युटर अपरेटर देउजा जेल चलान भएका थिए भने अन्य धरौटीमा छुटे ।
त्यसबेला केबिके कन्ट्रक्सनका राहुलजंग कार्की, रमिता इन्फ्रास्ट्रक्चरका इन्द्रबहादुर बोहरा, एमके कन्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, नन्दी कन्ट्रक्सनका कृष्णकुमार खत्री, ज्योति सुवेदी, चपुर निर्माण सेवाका सरोज दाहाल तथा राइजिङ पिक कन्ट्रक्सनका सञ्चालक सुजन अधिकारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । यसपटक पनि सीआइबीले विस्तृत अनुसन्धान गर्ने भएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया