दाङबाट रास्वपाको संगठन विस्तार अभियान शुरु, निर्वाचन केन्द्रित अभियान हुने
मसुरिया । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशमा संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ ।
दाङमा प्रदेश कार्यालय उद्घाटनसँगै प्रदेशस्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम अघि बढाउने तयारी रास्वपाले गरेको हो । कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू तथा दाङका तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको सहभागिता रहने बताइएको छ ।
रास्वपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान शुरु गर्न लागिएको बताए । उनका अनुसार अब संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्याउँदै प्रदेश र निर्वाचन क्षेत्र तहमा समेत अभियान सञ्चालन गरिनेछ ।
‘अब हामी स्थानीय तह, प्रदेशलगायत निर्वाचन केन्द्रित अभियान शुरु गर्छौँ,’ सभापति खनालले भने, ‘संगठन विस्तारको काम हामी प्रदेश राजधानीबाटै शुरु गर्दैछौँ ।’
खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीयस्तरका समस्या तथा आवश्यकतालाई राजनीतिक एजेन्डासँग जोड्ने काम हुनेछ । त्यसपछि स्थानीय तह र निर्वाचन क्षेत्र केन्द्रित गतिविधिलाई थप व्यवस्थित गरिनेछ ।
रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र उम्मेदवार छनोटसम्बन्धी तयारी अघि बढाइरहेको छ । पार्टीले ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद तथा केन्द्रीय सदस्यलाई परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा स्थानीय सरकारका कामकारबाही, पार्टीका नीतिगत पहल तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकसँग संवाद गर्ने विषय समेटिएको छ ।
दाङमा नयाँ नेतृत्व, संगठन विस्तारको जिम्मेवारी
रास्वपा दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खनालले १९६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी विनय घिमिरेले १२४ मत पाएका थिए ।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वसमेत चयन भइसकेको छ । निर्वाचन संयोजकका अनुसार क्षेत्र नम्बर १ मा मोहन आचार्य, क्षेत्र नम्बर २ मा किरण खड्का र क्षेत्र नम्बर ३ मा लाजुराम चौधरी चयन भएका छन् ।
नयाँ जिल्ला नेतृत्व चयन भएसँगै दाङमा संगठन विस्तार, पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिएको छ । अब प्रदेश राजधानीबाट शुरु हुने अभियानलाई जिल्लाका पालिका, वडा र टोलसम्म पु¥याउने तयारी छ ।
स्थानीय मुद्दादेखि निर्वाचन तयारीसम्म
अभियानअन्तर्गत स्थानीयस्तरमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समस्या पहिचान गर्ने, नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम पनि सञ्चालन गरिने रास्वपाले जनाएको छ ।
यससँगै स्थानीय तह र प्रदेश निर्वाचनका लागि संगठनात्मक आधार तयार गर्ने, सम्भावित नेतृत्व तथा उम्मेदवार पहिचान गर्ने र नागरिकसँग प्रत्यक्ष संवाद बढाउने गतिविधि अघि बढाउने तयारी छ । रास्वपाले यसअघि नै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा र ‘क्यान्डिडेट छनोट क्लब’ सम्बन्धी गृहकार्य शुरु गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।
यसरी दाङमा प्रदेश कार्यालय उद्घाटनसँगै शुरु हुने गतिविधि केवल कार्यालय सञ्चालनमा सीमित नरही संगठन विस्तार, जनसम्पर्क, स्थानीय मुद्दा पहिचान र आगामी निर्वाचनको तयारीसँग जोडिने अभियानका रूपमा अघि बढ्ने देखिन्छ ।
जिल्ला सभापति खनालले भनेझैँ, प्रदेश राजधानीबाट सुरु हुने संगठन विस्तार अब स्थानीय तह, प्रदेश र निर्वाचन क्षेत्र हुँदै वडा तथा टोलसम्म पुग्ने तयारीमा छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया