पर्वतमा कांग्रेसको वडा अधिवेशनको देउवा पक्षद्वारा भव्य शुरुवात, सभापतिमा कुलप्रसाद सर्वसम्मत

कुश्मा । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्र्तगत पर्वत जिल्लामा वडा अधिवेशन शुभारम्भ गरेका छन् ।

शनिबारदेखि पर्वत कांग्रेसले वडा अधिवेशन शुरु गरेको नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिएका छन् ।

कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा वडा अधिवेशन सम्पन्न भएको मल्लले बताए । वडा अधिवेशनले वडा सभापतिमा कुलप्रसाद पाध्यालाई सर्वसम्मति निर्वाचित गरेको छ ।

वडा कार्य समितिको दुई उपसभापतिमा यामबहादुर गुरुङ्ग र रेखा थापा गुरुङ्गलाई सर्वसम्मत निर्वाचित गरिएको छ । समितिको सचिवमा खडानन्द शर्मा, सहसचिव सुभाषचन्द्र पाध्या रहेका छन् । समितिको सदस्यमा पुष्पा परियार, शंकर वि.क., ऋषिराम शर्मा, विष्णुप्रसाद पोखरेल र सन्तोष गुरुङ्ग लगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथ्यताबाट सम्बोधन गर्दै नेपाली कांग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ्गले आफूहरूले पार्टीको वृहत्तर एकताको लागि पार्टी विधान बमोजिम प्रक्रियागत महाधिवेशन गर्न लागेको बताए । देशको राष्ट्रिय अस्तित्व खतरामा रहेको बताउँदै राष्ट्रियता रक्षाको लागि सबै राजनैतिक शक्ति मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस पर्वतका जिल्ला संयोजक यामबहादुर मल्लले पार्टी एकताको विकल्प नरहेको बताए । उनले पार्टी एकताको लागि मंसिरमा हुने महाधिवेशनलाई सफल बनाउनु पर्ने बताएका छन् । उनले वडा अधिवेशनमा सहभागी भए पश्चात विभिन्न धाक–धम्की र दवाव आउन सक्ने भन्दै त्यसबाट बिचलित नहुन आह्वान गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् जिल्ला सल्लाहकार विश्वप्रकाश प्रसाईं (रेशम रामदाश)ले आफ्नो सभापति माथि सांघातिक हमाल हुँदा स्वास्थ्यलाभको कामनासम्म नगर्ने, निर्वाचन पश्चात महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भए पश्चात विशेष महाधिवेशन आह्वान गर्नु, जसको कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको बताए । उनले सोही कारणले १४औं महाधिवेशनबाट निर्वाचित कार्य समितिले आह्वान गरेको १५औँ महाधिवेशनको औचित्य प्रमाणित भएको बताए ।

नेता प्रसाईंले तथाकथित विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगबाट अभिलेखिकरण गर्ने निर्णयलाई सर्वोच्च अदालतको संयुक्त बेञ्चबाट सदर गर्नु गम्भीर कानूनी त्रुटि देखिएकोले सम्मानित सर्वोच्च अदालतको पूर्ण बेञ्चबाट पुनरावलोकनको निस्सा प्राप्त भएको बताए ।

महाविधेशनको कार्यतालिकालाई अभिलेखमा राख्नुसंगै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितले आह्वान गरेको महाधिवेशनको वैधानिता प्रमाणित हुने नेता प्रसाईंले बताए । हरेक जनजनमा आध्यात्मिक चिन्तन र वैदिक सनातनी संस्कार विकास नभएसम्म समृद्धि संभव नभएको भन्दै नेपाली कांग्रेसले वैदिक सनातन धर्म रक्षाको लागि अव लाग्नुपर्ने र लाग्ने उनले बताएका छन् ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका वडाध्यक्ष तेजप्रसाद पाध्याले नेपाली कांंग्रेसको आजको अधिवेशन, दुर्लुङ्गको भविस्यसंग जोडिएको बताए । नेपाली कांग्रेस पर्वतका पूर्व कोषाध्यक्ष कृष्ण शर्मा गौडेलले पार्टीमा कोही पनि कसैको लास र दाश बन्न नपरोस भनेका छन् ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य मोहन आचार्यले वडा अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

एमाले दुर्लुङ्गका अध्यक्ष कृष्णप्रसाद पोखरेलले शेरबहादुर देउवा राष्ट्रिय गौरव भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका वडा नं. ३ का प्रतिनिधि भीमप्रसाद शर्माले सबै पार्टीमा ससाना मतभेदहरू विद्यमान रहे पनि नेपाली कांग्रेस एक हुन जरुरी रहेको बताए ।

शैक्षिक सामाजिक व्यक्तित्व काशिराम पोखरेलले पर्वतको सन्दर्भमा जनताको दुःख, सुखमा प्रत्यक्ष सहभागी नेताहरूले वडा अधिवेशनमा पाएको भन्दै जसले दुःखमा साथ दिएको छ, राजनीतिमा पनि उसलाई साथ दिनुपर्ने बताए ।

स्वतन्त्र विश्लेषक, सामाजिक व्यक्तित्व शालिकराम शर्माले नेपाली कांग्रेसको चारतारे झण्डा र रुख चिन्ह शेरबहादुर देउवाको कार्यसमितिले प्राप्त गर्ने कुरामा दुविधामा नपर्न अनुरोध गरेका छन् ।

वडा अधिवेशन उद्घाटन समारोह निवर्तमान वडा सभापति लेखबहादुर गुरुङ्गको सभापतित्व, वर्तमान सभापति कुलप्रसाद पाध्याको स्वागत, जिल्ला सदस्य गुप्तप्रताप सेनको धन्यवाद एवम् वर्तमान सचिव खडानन्द शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Published : Saturday, 2026 October 3, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया