चितवनमा कांग्रेसको अधिवेशन धामधम हुँदै, देउवा पक्ष निकै उत्साहित

भरतपुर । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको तयारीसँगै चितवनमा अधिवेशनको प्रक्रिया अघि बढेको छ ।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । महाधिवेशन तयारी समितिको संयोजक प्रा.डा. शशांक कोइराला रहेका छन् ।

यसैबीच, देउवा पक्षीय नेपाली कांग्रेस चितवनले बिहीबारदेखि वडा अधिवेशन शुरु गरेको छ । भरतपुरमा सम्पर्क कार्यालय स्थापना गरेको देउवा पक्षले वडा अधिवेशन शुरु गरेको पूर्वमन्त्री एवम् बागमती प्रदेश सभाकी सांसद विनु रायमाझी पौडेलले जानकारी दिएकी छिन् । उनले उत्साहका साथ अधिवेशनहरू भइरहेको बताइन् । पालिका, क्षेत्रमा समेत संयोजकहरू तोकेर अधिवेशन गर्न पाइएको उनले बताएकी छिन् ।

तयारीअन्तर्गत नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले चितवन क्षेत्र नं. २ को तयारी समितिको संयोजकमा रचन कार्कीलाई मनोनयन गरेको छ ।

असोज ३ गते संयोजक प्रा.डा.शशांक कोइरालाले मनोनयन पत्रमा जिल्ला तहका साथीहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा कार्कीलाई उक्त जिम्मेवारी दिइएको उल्लेख छ ।

पत्रमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमाथि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको उल्लेख गर्दै वडा तहदेखि प्रदेश र केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ ।

यसैक्रममा प्रमिश राईलाई भरतपुर महानगरको महाधिवेशन तयारी संयोजकको जिम्मेवारी दिइएको छ ।

चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राईलाई जिम्मेवारी दिइएसँगै जिल्लामा देउवा पक्षको महाधिवेशन तयारी तथा संगठनात्मक गतिविधि थप सक्रिय बनेको छ ।

देउवा पक्षले देशभर महाधिवेशन तयारीका लागि जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधिसमेत परिचालन गर्दै आएको छ ।

Published : Friday, 2026 October 2, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया