सिन्धुपाल्चोक १ कांग्रेसमा लुकेर अधिवेशन गर्न भूमिगत गिरोह सक्रिय, कार्यबाहक सभापतिले भने- सानेपाबाट समन्वय भएको छैन

बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का कार्यबाहक सभापति देवेन्द्र खड्का क्षेत्रीय अधिवेशन प्राविधिक त्रुटिले स्थगित भएको भन्दै अधिवेशनको नयाँ कार्यक्रम नभएको बताएका छन् ।

शुक्रबार कार्यबाहक सभापति खड्काले प्रेस विज्ञप्ति जारी गरेर कांग्रेस केन्द्रीय कार्यालयलाई अधिवेशन स्थगित भएको कारण जानकारी गराइएको बताएका छन् ।

कांग्रेसको नाममा केही समूहले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा आफू खुसी गोप्यरुपमा अधिवेशन गरेर कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरू टाँस गरेर फरार हुने रणनीति बनाएपछि कार्यबाहक सभापति खड्काले अधिवेशनको नयाँ कार्यक्रमका विषयमा केन्द्रीय कार्यालयबाट कुनै पनि समन्वय नभएको जनाएका हुन् । उनले पार्टीको विधि र विधान विपरीत हुने गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भने, ‘अतः यस सम्बन्धमा कुनै भ्रम वा अन्योलमा नपर्नुहुन सम्पूर्ण एकाइ सभापति, क्षेत्रीय प्रतिनिधि तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ । आधिकारिक निर्णय, निर्देशन तथा कार्यक्रम प्राप्त भएपछि सोहीअनुसार आवश्यक जानकारी पुनः गराइनेछ ।’

‘स्थगित भएको क्षेत्रीय अधिवेशनको मतदान तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्ने सम्बन्धमा केन्द्रबाट हालसम्म कुनै आधिकारिक पत्र वा निर्देशन प्राप्त नभएको जानकारी गराइन्छ,’ खड्काले भनेका छन् ।

‘उक्त कार्यक्रम कसरी, कहिले र कुन स्थानमा सञ्चालन गर्ने भन्ने विषयमा पार्टीका कुनै पनि तहका नेतृत्वसँग क्षेत्रीय कार्यसमितिको औपचारिक छलफल वा समन्वय नभएको व्यहोरा समेत अवगत गराउन चाहन्छौं,’ कार्यबाहक सभापति खड्काले भनेका छन् ।

‘यसै सन्दर्भमा, केन्द्रबाट समेत कुनै आधिकारिक पत्र प्राप्त नभएको अवस्थामा मिति २०८३ असोज १७ गते निर्वाचन कार्यक्रम सञ्चालन हुने भन्ने विषयमा क्षेत्रीय कार्यसमितिलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारिन्छ,’ कार्यबाहक सभापति खड्काले भनेका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन मिति २०८३ असोज १३ गते प्राविधिक त्रुटिका कारण सम्पन्न हुन नसकेको सम्बन्धमा मिति २०८३ असोज १३ गते नै सूचना प्रकाशित गरी स्थगित गरिएको व्यहोरा सबैमा सर्वविदितै रहेको खड्काले बताएका छन् ।

उक्त विषयमा केन्द्रीय कार्यालयलाई समेत आवश्यक जानकारीसहित पत्राचार गरिसकिएको कार्यबाहक सभापति खड्काले बताएका छन् ।

Published : Friday, 2026 October 2, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया